प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटः यी विषयमा छलफल

केन्द्रभाग मिडिया

काठमाडौं ।प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको छ ।एमसीसी पारित गर्ने विषय पेचिलो बनिरहेका बेला सत्ता गठबन्धनका यी दुई प्रमुख नेताले भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री देउवासँग छलफल गर्न अध्यक्ष प्रचण्ड आज बिहान बालुवाटार गएका थिए । दुई नेताबीचको वार्ताको विस्तृत विवरण दुवै पक्षले दिएका छैनन् ।यद्यपि एमसीसीबारे छलफल भएको बताइएको छ।

अस्ति शनिबार साँझ बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी पारितमा गठबन्धन सहमत नभए गठबन्धन नै टुट्ने चेतावनी दिएको समाचार प्रकाशनमा आएपछि प्रचण्ड र देउवाले यसबारे छलफल तीव्र पारेका हुन् । यता एमसीसीको विषयमा गठबन्धनमा विवाद नभएको र यसले गठबन्धन तलमाथि नहुने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री र माओवादी अध्यक्षबीच स्थानीय तहको निर्वाचनको मिति तथा एमसीसीलगायतका विषयमा छलफल भएको बताइएको छ । सत्ता गठबन्धनलाई एमसीसीको कारण कुनै खतरा नरहेको दुवै पक्षले बताएका छन् ।

यसअघि प्रधानमन्त्री देउवा, प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच एमसीसी पारित गर्ने सहमति भइसकेको छ ।

  • १७ माघ २०७८, सोमबार १३:१२ प्रकाशित