कोभिड खोप अनिवार्य गरिएको विरोधमा क्यानडामा चर्कियो प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौं ।

ट्रक चालकहरुलाई कोरोना खोप अनिवार्य गरिएको विरोधमा क्यानडामा विरोध प्रदर्शन जारी छ ।

अमेरिका-क्यानडा सीमा पार गर्ने ट्रक चालकहरूका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरिएपछि त्यसको विरोधमा भएको प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन पनि ठप्प भएको छ।

राजधानी ओटावामा ‘फ्रिडम कन्भोई’भनिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारीहरू सहभागी भएका छन्।प्रदर्शनका कारण असुरक्षित महसुस गर्दै प्रधानमन्त्रीले जस्टिन ट्रुडोले परिवारका सदस्यसहित राजधानी ओटावास्थित आफ्नो घर छाडेर अन्यत्र गएको बीबीसी नेपालीमा उल्लेख गरिएको छ । उनी कहाँ गएर बसेका छन् भन्ने खुलाइएको छैन ।

ट्रक चालकहरुलाई पनि कोरोनाविरुद्धको खोप अनिवार्य गरिएपछि त्यसको विरोधमा ट्रक चालकहरुले क्यानडाको संसद् भवन वरपरका सडकमा ट्रक तेर्स्याएर यातायात सेवा अवरुद्ध पारेका छन् ।

ट्रक चालकहरुलाई साथ दिंदै अन्य हजारौं नागरिकहरु पनि प्रदर्शनमा उत्रिएका छन् । कतिपय प्रदर्शनकारी ओटावाका स्मारकहरुको अपमान गर्ने ढंगले प्रस्तुत भएका छन् ।

प्रदर्शनकारीहरुले पनि नयाँ माग थप्दै देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको निर्णय हटाउनुपर्ने आवाज उठाउँदै आएका छन् ।

  • १७ माघ २०७८, सोमबार १०:१९ प्रकाशित