एमसीसी कै कारण गठबन्धन टुट्ने सम्भावनाः देउवाले दिए चेतावनी !

केन्द्रभाग मिडिया

काठमाडौं ।

केही समय साम्य बनेको एमसीसीको विषय फेरि उठ्न थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवामाथि अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्न अमेरिकाले पुन दबाब दिएसँगै यो विषय फेरि उठ्न थालेको छ। ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्नैपर्ने बाध्यतामा आफू रहेको बताएका छन् । उनले एमसीसी पास नभए पाँचदलीय गठबन्धन टुट्ने चेतावनीसमेत दिएको बताइएको छ ।

हिजो(शनिबार) साँझ सत्तारुढ पाँच दलको बैठक राखेर स्थानीय निर्वाचनमा जेठमा गर्ने सहमति जुटाएका देउवाले लगतै एमसीसीबारे छलफल गरेका थिए । बैठकमा देउवाले १ फेब्रुअरीसम्म अनुमोदन नगराए अमेरिकाले एमसीसी परियोजना फिर्ता लैजाने भन्दै संसदबाट अनुमोदन गर्नुपर्ने बताएका छन् ।

हिजोको बैठकमा शीर्ष नेताहरुबीच केहीबेर चर्काचर्की नै भएको बताइन्छ । हिजोको घम्साघम्सी देख्दा एमसीसीकै कारण गठबन्धन नै टुट्न सक्ने सम्भवाना देखिएको छ ।

देउवाले एमसीसी पास गर्नैपर्ने भएकाले सहयोग गर्न नेताहरुसँग आग्रह गरेका छन् । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु भने अझै सहमत भएका छैनन् । यही अवस्थामा संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने उनीहरुले बताएका छन् ।

देउवाले भने एमसीसी संसदमा पेश हुने बताएको जनाइएको छ । उनले नेताहरुलाई मन लागे भोट गर्न नलागे नर्गनुस भन्दै एमसीसी यही अधिवेशनबाट पारित हुने बताएका छन् नत्र गठबन्धन टुट्ने चेतावनी दिएका छन् ।

  • १६ माघ २०७८, आईतवार १५:५४ प्रकाशित