पोखरा ।
विभागीय नेपाल एपिएफ फुटबल क्लब २० औं संस्करणको आहा रारा गोल्डकपको उपाधि जितेको छ । मनाङ–मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै एपिएफले उपाधि जितेको हो । एपिएफले पहिलो पटक आहा रारा गोल्डकपको उपाधी जितेको हो ।
पेनाल्टी सुटआउटमा ओलावाले अफिज असफल भएपछि ६ पटकको च्याम्पियन मनाङ उपाधिबाट बञ्चित बन्यो । उनको प्रहारलाई एपीएफका कोरियन गोलकिपर युया कोरियामाले रोकेका थिए ।
एपीएफका नविन लामा, सनिस श्रेष्ठ, रवि थिङ, मणी लामा, अर्मान्ड बिडोम पेनाल्टी सुटआउटमा सफल बने ।
मनाङको तर्फबाट फ्रेङ्कलिन टाला, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गरेका थिए ।
निर्धारित समयको खेल २–२ गोलको बरावरी र त्यस पछिको अतिरिक्त समयमा कुनै गोल हुन नसके पछि खेल टाइब्रेकरमा फाइनल भएको हो ।
२०औं मिनेटमा युवराज खड्काले गोल गर्दै एपिएफलाई सुरुवाती अग्रता दिलाए थिए। ६७ औं मिनेटमा मनाङका दयानन्द सिंहले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा बनाए । ८४औं मिनेटमा फ्रान्कलिन कोटे टालाले गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए ।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रवि थिङले गोल गर्दै खेललाई २–२ गोलको बराबरी बनाए । एपिएफसँगको हारसँगै मनाङ भने कीर्तिमानी सातौंपटक उपाधि जित्नबाट चुक्यो ।
उपाधि सहित एपीएफले १० लाख रुपैयाँ हात पारेको छ । उपविजेता मनाङले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।