कार्यसम्पादन समिति गठन गर्दै देउवा

केन्द्रभाग मिडिया

काठमाडौं ।

भोलि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।काँग्रेसका सभापति शेरबहादुर देउवाले भोलिका लागि बैकठ बोलाएका हुन् । कोरोना संक्रमण जोखिमका कारण बैठक भर्चुअल माध्यमबाट बस्ने भएको छ। बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ।

देउवाले काँग्रेसको केन्द्रीय समिति जम्बो भएकाले कार्यसम्पादन समिति गठन गर्नका लागि बैठक बोलाएको बताइएको छ। केन्द्रीय समितिको आकार ठूलो भएको र कोरोना महामारीका कारण बैठक बस्न सम्भव नभएपछि देउवाले कार्यसम्पादन समिति गठन गर्न लागेका हुन् ।

भर्चुअल बस्ने बैठकमा समिति गठनको प्रस्ताव पेश गर्ने तयारी भएको महामन्त्री गगनकुमार थापाले जानकारी दिए । ‘भोली कार्यसम्पादन समिति गठन गर्नकै लागि बैठक बस्न लागेको हो, बैठकको यही एउटा एजेण्डा मात्रै हो ।’ उनले भने

१४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको दुई महिनामा सभापति देउवाले कार्यसम्पादन समिति गठन गर्न लागेका हुन् । पार्टीका आन्तरिक र राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा निर्णय गर्नुपर्ने भएकाले कार्यसम्पादन समिति गठनलाई देउवाले प्राथमिकता दिएका हुन् ।

कांग्रेसमा अहिले १३ पदाधिकारी महाधिवेशनबाट निर्वाचित भएका छन् भने कोषाध्यक्ष मनोनित हुन बाँकी छ । त्यस्तै प्रवक्ता पद पनि रिक्त छ । कांग्रेस संसदीय दलको नेता सभापति देउवा स्वयम् नै भएकाले कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति ४६ सदस्यीय हुनेछ ।
विधानमा कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने व्यवस्था छ ।

अहिले १४८ केन्द्रीय सदस्य रहेका छन् । महाधिवेशनबाट १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने सभापतिमा दोस्रो बढी मत पाउने स्वतः केन्द्रीय सदस्य हुने विधानको व्यवस्था अनुसार डाक्टर शेखर कोइराला केन्द्रीय सदस्य भएका हुन् ।

  • १३ माघ २०७८, बिहीबार १६:०१ प्रकाशित