गण्डकीमा गठबन्धनका दुई सांसदले विपक्षीलाई मत दिए, एक तटस्थ, को हुन् ति सांसद ?

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका दुई जना सांसदले राष्ट्रिय सभा निर्वाचनमा एमाले उम्मेद्वारलाई मत दिएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेसंग २७ जना सांसद रहेकोमा एमालेका दुई उम्मेद्वारलाई २९ सांसदले मत दिएका हुन् । एक उम्मेद्वारलाई भने २८ सांसदले मत दिएका छन् ।

गठबन्धनका एकजना सांसदले कुनैपनि उम्मेद्वारलाई मत नदिएका पाइएको छ । उनले सबै उम्मेद्वारलाई मत नदिएको पाइएको हो । संसदमा एमालेका २७, नेपाली कांग्रेसका १५, माओवादीका सभामुख सहित १२, जनता समाजवादीका दुई, राष्ट्रिय जनमोर्चाका दुई र एक स्वतन्त्र सांसद छन् ।

स्वतन्त्र सांसद दिपक मनाङ मन्त्रिपरिषदका सदस्य छन् । ६० सदस्यीय प्रदेशसभामा राजमोका एक सांसद निलम्बनमा परेसंगै अहिले संसद ५९ सदस्यीय रहेको छ ।

गण्डकीमा जम्मा पाँच हजार ७६८ मतभार रहेकामा एमालेको दुई हजार ५३८ र सत्तारुढ गठबन्धनको मतभार ३ हजार ३ सय ३६ थियो । मनाङ बाट स्वतन्त्र सांसद जितेका राजीव गुरुङ पनि गठबन्धन सरकारमै मन्त्री छन् ।

८५ स्थानीय तहको १ सय ७० सिटमध्ये अध्यक्ष र उपाध्यक्ष, मेयर र उपमेयर गरी ७० जना एमाले जनप्रतिनिधि छन् । दुई जना उपप्रमुख राप्रपाले जितेको हो भने बाँकी गठबन्धनका प्रमुख उपप्रमुख हुन् ।
त्यस मध्येपनि एमालेका लो घेकर दामोदर कुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट देश बाहिर अमेरिका छन् ।

उनको संख्या घटाउँदा एमालेसंग ६९ पदाधिकारी रहन्छन् । तर राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेद्वारलाई ७४ जनाले मत दिएका छन् । दुई जना उम्मेद्वारलाई दुई जना स्थानीय तहका उम्मेदवारले मत दिएका छैनन् भने एमाले उम्मेद्वार पुण्य पौडेललाई ७५ जना स्थानीय तहका प्रमुख उपप्रमुखले मत दिएका छन् ।

गठबन्धन दलका दुई सांसद र ५ जना प्रमुख उपप्रमुखले आफूहरुलाई मत दिएको एमाले सांसद धनञ्जय दावडीले बताए । ‘हाम्रो संसदमा २७ सिट हो । २९ जनाले हाम्रो उम्मेद्वारलाई मतदान गर्नुभएको छ । त्यो भनेको दुईजना सांसदले हामीलाई मत दिनुभयो । थप एक जनाले सुविचारित रुपमा कसैलाई मत नदिई तटस्थ बसेको पाइयो ।

त्यसैगरी पाँच जना स्थानीय तहका प्रमुख उपप्रमुखले हाम्रा उम्मेदवारलाई मत दिनुभएको छ ।’ उनले भने, ‘यसले गठबन्धनमा समस्या छ भन्ने देखियो । अब कसले मत क्रस ग¥यो भन्ने कुरा उहाँहरुले नै समिक्षा गर्ने होला । हामीले टेक्निकल रुपमा निर्वाचन हारेपनि राजनीतिक रुपमा जितेका छौं ।’

गठबन्धन तर्फका दुई सांसदले एमाले उम्मेद्वारलाई मत मत दिएको नेपाली कांग्रेसका सांसद प्रकाशचन्द्र दवाडीले स्विकार गरेका छन् । त्यसैगरी गठबन्धनकै एक सांसद तटस्थ बसेको पनि उनले स्विकार गरे । ‘हाम्रो तर्फका दुई सांसदले एमाले उम्मेद्वारलाई मत दिनुभएको पाइयो । एक सांसद तटस्थ बस्नुभएको पाइयो,’ उनले भने, ‘यसलाई बसेर गम्भिर समिक्षा गर्नुपर्ने देखिएको छ । हामी पाँच दल एक पटक वस्छौं र समिक्षा गछौं ।’

त्यसैगरी गठबन्धनका पाँच देखि आठ जना स्थानीय तहका प्रमुख उपप्रमुखले पनि एमाले उम्मेद्वारलाई मतदान गरेको उनले बताए । त्यस विषयमा पनि गम्भिर समिक्षा हुने उनको भनाई थियो । दुई सांसदले एमाले उम्मेद्वारलाई मतदान गर्नु र एक सांसद स्वतन्त्र बस्नुले गठबन्धन सरकार अल्पमतमा परेको देखिएन र ? भन्ने जिज्ञासामा उनले ‘यसो भन्न पनि पाइन्छ तर बसेर समिक्षा गर्छौं’ भनेका छन् ।

  • १३ माघ २०७८, बिहीबार ०७:२५ प्रकाशित