काठमाडौं ।
राष्ट्रियसभा निर्वाचन लगत्तै कांग्रैसको केन्द्रीय समिति बैठकको तयारी भएको छ ।
स्थानीय तहको निर्वाचन लगायत समसामयिक मुद्दामा छलफल गर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बैठक बोलाउने तयारी गरेका छन् ।
संविधानअनुसार पाँच वर्षभित्र स्थानीय जनप्रतिनिधिको निर्वाचन हुनुपर्ने भएपनि अहिले सत्ता गठबन्धनमा निर्वाचन ६ महिना सार्ने सहमति भएको छ ।
सत्ता गठबन्धनका प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीय संसदको निर्वाचन पहिले गरेर स्थानीय तहको निर्वाचन ६ महिनापछि गर्ने प्रस्तावलाई सत्ता गठबन्धनले अनुमोदन गरेसँगै त्यसको चौतर्फी आलोचना भैरहेको छ ।
निर्वाचन आयोगले बारम्बार पाँच वर्षभित्रै निर्वाचन गराउनुपर्ने भन्दै सरकारलाई ध्यानकर्षण गराइरहेको भएपनि सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस समेत निर्वाचन सार्ने पक्षमा उभिन थालेपछि निर्वाचनबारे उचित निर्णय लिन केन्द्रीय समिति बैठक बोलाउन लागिएको बताइएको छ ।