नेपालकै दोस्रो लामो झोलुङ्गे पुल बन्दैँ !

केन्द्रभाग मिडिया

बागलुङ ।

बागलुङमा नेपालकै दोस्रो लामो झोलुङ्गे पुल बन्ने भएको छ। बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्नेगरी कालीगण्डकीमाथि
‘सिङ्गल स्पान’ प्रविधिमा पुल बन्न लागेको हो । ‘सिङ्गल स्पान’ प्रविधिमा संसारकै लामो ५६७ मी लामो पुल निर्माण गरेको ‘सस्पेन्सन ब्रिज डिभिजन’ले अर्को लामो पुल निर्माणको तयारी थालेको हो ।

बागलुङ नगरपालिकाको निरन्तर प्रयासपछि डिभिजनले बागलुङ नगरपालिका–४ गौरीधामदेखि पर्वतको जलजला गाउँपालिका–८ नागलीबाङ जोड्ने लामो पुल निर्माणको प्रक्रिया अघि बढाएको हो । प्रारम्भिक सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भएपछि झोलुङ्गेपुल निर्माणका लागि बोलपत्रको प्रक्रिया सुरु भएको हो ।

कालीगण्डकीमाथि ५२४ मिटर लामो र १७२ मिटर उचाइमा बन्ने पुल प्रभावित क्षेत्रमा डिभिजनका प्राविधिकहरुको समूहले स्थलगत अध्ययन गरेको छ ।

प्रभावित क्षेत्रका सर्वसाधारणमा उत्साह देखिएकाले बोलपत्रको प्रक्रिया तत्काल सुरु हुदैँछ। पुल निर्माणका लागि नेपाल सरकारले रु १२ करोड विनियोजन गरेको छ । ठेक्का लागेको दुई वर्षमा पुल तयार हुनेछ ।

पुल निर्माण भएपछि पर्वतको जलजला गाउँपालिकाका सर्वसाधारणलाई बागलुङ बजारको पहुँचमा ल्याउन सहज हुनेछ ।

  • १२ माघ २०७८, बुधबार १४:२७ प्रकाशित