परीक्षणका लागि ठिक्क पारेको ६ करोडको पुल टेको झिक्दा भाँचियो (भिडियो सहित)

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा परीक्षणको लागि ठिक्क पारेको पुल परीक्षण हुनु अघि नै भाँचिएको छ । ६ करोड लागतमा बनेको पोखरा महानगरपालिका वडा नम्बर ३२ गगनगौडा र वडा नम्बर ३३ लामगाँदे जोड्ने पुल परीक्षण हुन नपाउँदै भाँच्चिएको हो ।

निर्माण सम्पन्न भएर पुलको टेको झिक्ने क्रममा पुल भाँचिएको स्थानीय रविन केसीले बताए ।  निर्माणको जिम्मा पाएको एमएस एलिट कन्स्ट्रक्सन कम्पनी प्रालीले पुल निर्माणमा कमसल सामाग्री प्रयोग गरेका कारण पुल परीक्षण हुन नपाई भाँचिएको उनको भनाई छ ।

सोमबार दिउँसो उक्त पुल परीक्षण गर्ने तयारी थियो । पुल भाँच्चिएपछि परीक्षण गर्न माटो बोकेर गएका टिपर फर्काइएको थियो।
टेको झिक्नेक्रममा ठूलो आवाज निकाल्दै पुल भाँच्चिएपछि मजदूरहरुको भागाभाग भएको थियो ।

उक्त पुल निर्माण गर्न ६ करोड ११ लाख २० हजार ८२५ रुपैयाँ लागत लागेको थियो । डेढ वर्षभित्र सम्पन्न गर्ने गरि जिम्मा लिएको कम्पनीले सम्झौता भएको तीन वर्षपछि मात्रै पुल निर्माण सम्पन्न गरि परीक्षणको तयारी गरेको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विभाग डोलिडारले पुन डिजाइन पछि २२ पुस २०७५ मा सेति नदी पुल निर्माण गर्न सो कम्पनीसँग सम्झौता गरेको थियो ।

निर्माणको जिम्मा लिएको कम्पनी प्रालीका प्रोजेक्ट इन्चार्ज जीवन पौडेलले पुल भाँच्चिनु निर्माण कम्पनीका लागि व्याडलक भएको बताए। निर्माण कम्पनीको तर्फबाट कुनै कमजोरी नभएको उनको दाबी छ ।

पुलमा आठ हजार वटा नटबोल्ट प्रयोग गरिएको र ती कुनैपनि नटबोल्ट ढिला नभएको उनले बताए । पुल निर्माणको काम ९८ प्रतिशत सकिएको र परीक्षण गरेर रंगरोगन सक्ने अनि हप्तादिनभित्र पुल हस्तान्तरण गर्ने योजनामा आफूहरु रहेको उनले बताए ।

निर्माणाधिन पुल भाँच्चिएको खवर पाएसंगै कास्कीबाट संघीय संसदमा निर्वाचित एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी र संघीय सांसद विद्या भट्टराईले छुट्टाछुट्टै निरीक्षण गरेका छन् ।

  • १२ माघ २०७८, बुधबार १३:११ प्रकाशित