तत्काल चुनावको मिति घोषणा गर्न आयोगको दबाब

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई दबाब दिएको छ। सरकारले वैशाखमा निर्वाचन नगरि मंसिरमा एकैपटक तीनै तहको निर्वाचन गर्ने तयारी गरेपछि आयोगले विज्ञप्ति जारी गर्दै तत्काल चुनावको मिति घोषणा गर्न दबाब दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोश्रो चरण र असोज २ गते तेश्रो चरणमा सम्पन्न भएकोेमा पहिलो चरण २०७४ वैशाख ३१ गतेलाई आधार मान्दा स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल आगामी २०७९ जेठ ५ मा समाप्त उल्लेख गरिएको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्था बमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै आयोगले तत्काल मिति घोषणा गन सरकारलाई आग्रह गरेको हो ।

यसबारे आयोगले कार्तिक ८ गते र पुस ९ गते भेटेर जानकारी गराएको पनि उल्लेख गरेको छ । सो भेटमा वैशाख १४ गते बुधबारका दिन एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताव गरिएको र यदि कुनै कारणबाट एकै चरणमा निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरणमा वैशाख १४ गते बुधबार र दोश्रो चरण वैशाख २२ गते विहिबार गर्ने गरी दुई चरणमा निर्वाचन गर्न उपयुक्त हुने प्रस्ताव गरिएको आयोगको भनाइ छ ।

  • ११ माघ २०७८, मंगलवार १५:३९ प्रकाशित