पोखरा ।
साविक विजेता संकटा फुटबल क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।
सोमबार भएको खेलमा मछिन्द्र फुटबल क्लबसँग ४–१ गोल अन्तरले पराजित हुँदै संकटा बाहिरिएको हो । मछिन्द्र भने पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा मछिन्द्रलाई जित दिलाउन मेसुके ओलोमोउले दुई गोल गरे । यस्तै उत्सव राई र अविशेक गुरुङले एक एक गोल गरे ।
संकटाका गणेश हमालले एक गोल फर्काए ।
खेलको १२ औं मिनेटमा उत्सव राईले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४७ औं मिनेटमा मेसुकेले गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए ।
खेलको ६३ औं मिनेटमा गणेशले गोल गर्दै संकटालाई २–१ को स्थितिमा ल्याए ।
अविशेकले खेलको ८४ औं मिनेटमा गोल गरेपछि मछिन्द्रले ३-१ को अग्रता बनायो ।
त्यसपछि खेलको ८६ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ४–१ को सहज जित दिलाए ।
अब मछिन्द्रले सेमिफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ ।
पहिलो क्वाटरफाइनलमा बीवाईएससी मिनेसोटा युएसएलाई ३–१ गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगिसकेको छ ।
प्रतियोगिता अन्तर्गत मंगलबार अन्तिम क्वार्टरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ ।
यसअघि शनिबार पहिलो क्वाटरफाइनलमा एपिएफले अमेरिकी टोली भुटनीज युथ स्पोर्ट्स क्लब (बिवाइएससी) लाई ३-१ ले पराजित गरेको थियो । आइतबार मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।