मलेसिया लगायत खाडी मुलुकमा भिजिट भिषामा जान रोक लगाउने निर्णय गरेको नेपाल सरकारले फेरि केही निश्चित तोकिएका संस्थागत व्यक्तिलाई जान छुट दिने भएको छ।
गृह मन्त्रालयले हिजो आइतबार प्रेस विज्ञप्ति जारी गर्दै तोकिएका संस्थागत प्रतिनिधि र व्यक्तिहरूलाई मात्र खाडी मुलुक र मलेसिया भ्रमणका लागि प्रस्थान अनुमति दिने जनाएको हो ।
कोभिड–१९ सङ्क्रमण फैलिरहेका बेला खाडी मुलुक र मलेसियामा गई नेपाली बिचल्लीमा परेको गुनासो आएकाले आजदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि उक्त मुलुकको भ्रमणमा जान रोक लगाएको हो।तोकिएका निकायका प्रतिनिधिलाई मात्र भ्रमण भिसाका लागि प्रस्थान अनुमति दिने पनि मन्त्रालयले जनाएको छ।
सरकारी कामको सिलसिलामा जाने सरकारी कर्मचारी, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि (संस्थागत कार्यका लागि मात्र) लाई प्रस्थान अनुमति दिनेछ।
नेपालमा सामान आयातनिर्यात गर्ने व्यावसायिक प्रतिनिधि (आयातनिर्यातका लागि मात्र), वार्षिक न्यूनतम रु ६ लाख कर योग्य आय भई कम्तीमा सोको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्धता भएका व्यक्ति पनि भ्रमणका लागि प्रस्थान अनुमति दिइने मन्त्रालयले जनाइएको छ।
मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलका अनुसार औद्योगिक तथा व्यावसायिक गतिविधिमा अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध विशिष्ट संस्थाबाट विशिष्ट कार्यका लागि जानुपर्ने आधिकारिक प्रतिनिधि, वैदेशिक रोजगार व्यवसायको बजार प्रवर्द्धनका लागि जाने म्यानपावर व्यावसायिक सञ्चालक वा आधिकारिक प्रतिनिधिलाई पनि प्रस्थान अनुमति प्रदान गरिनेछ।
बिरामी कुरुवा वा बिरामीको रेखदेखका रूपमा जाने (तीन पुस्ताभित्रका) पारिवारिक सदस्यहरू (नेपाली राजदूतावासको पत्र परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्ने) का लागि पनि प्रस्थान अनुमति खुला गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।