मादी गाउँपालिका नेकपा (एस)को अध्यक्षमा सापकोटा

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा (एकीकृत-समाजवादी) ले मादी गाउँपालिकामा संगठन विस्तार गरेको छ । मादीमा सम्पन्न भेलाले घननाथ सापकोटाको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको हो।

शनिबार सम्पन्न भेलाले कमिटी उपाध्यक्षमा साजन तामाङ, सचिवमा दुर्गा भुजेल र उपसचिवमा दुर्गा थपलिया चयन गरेको छ ।

भेलालाई सम्बोधन गर्दै पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री तुलबहादुर गुरुङले नेकपा एस सर्वहारा वर्गको पक्षमा रहेको भन्दै समाजवादको लक्ष्य भेट्टाउने गरी जनताको पक्षमा इमानदार भएर लाग्नुपर्ने बताए।

भेलामा पार्टीका केन्द्रीय सदस्य कृष्ण नेपाली, प्रदेश सदस्य नवराज पहारी, विष्णु भट्टराई, जिल्ला उपसचिव पूर्ण लामा, डिवी राई, जिल्ला कमिटीका सदस्यहरू जितबहादुर सुनार, महेन्द्र गुरुङ, माधव तिवारी, विनोद बराल, तिलक विक, रवीन्द्र पौडेल, दधिराम पौडेल, रवि पन्त लगायतले नेकपा एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुँदै गएको उल्लेख गर्दै पूर्व एमाले मात्र नभई अन्य पार्टीमा आस्था राख्नेले समेत नेकपा एसलाई रोज्न थालेको दाबी गरेका थिए।

संविधान विपरीत अल्पायुमै संसद् विघटन गर्ने, पार्टीलाई सामूहिकतामा नभई व्यक्तिवादी सोचबाट प्रेरित भई सञ्चालन गर्न खोज्ने, जन भावनाको कदर नगर्ने जस्ता प्रवृत्ति बढ्दै गएकाले त्यसको विद्रोहमा नेकपा (एकीकृत समाजवादी) जन्मिएको वक्ताहरूको भनाइ थियो ।

गाउँपालिका संयोजक घननाथ सापकोटाको अध्यक्षतामा सम्पन्न भेलाको स्वागत काशीनाथ अधिकारीले गर्नुभएको थियो भने कार्यक्रम साजन तामाङले सञ्चालन गर्नुभएको थियो । भेलाले मादीका १२ वटै वडामा सङ्गठन विस्तार गर्ने गरी योजना बनाएको अध्यक्ष सापकोटाले बताउनुभयो।

  • ९ माघ २०७८, आईतवार ०६:४७ प्रकाशित