मन्त्री रेणु यादवको हिंसात्मक अभिव्यक्तिबारे एमाले नेताले मागे प्रम देउवाको जवाफ

केन्द्रभाग मिडिया

काठमाडौं ।

डा. सिके राउतको हत्या गर्ने भन्दै खुलेआम धम्की दिने भौतिक पूर्वाधार मन्त्री रेणु यादवको चौतर्फी आलोचना भएको छ ।

उनलाई मन्त्री पदबाट तुरुन्तै बर्खास्त गर्नुपर्ने भन्दै आलोचना भएको छ। यसैबीच प्रमुख विपक्षी नेकपा एमालेका शीर्ष नेताहरुले अर्को गौर नरसंहार मच्चाएर सिके राउतको हत्या गर्ने मन्त्री रेणु यादवलाई सत्ता गठबन्धनले नै संरक्षण दिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ मागेका छन् ।

रेणु यादवको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,एमाले उपमहासचिव प्रदीप ज्ञवाली र एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्री र सत्ता गठबन्धनका नेताहरुको जवाफ मागेका हुन् । उनीहरुले यादवलाई तुरुन्तै पदबाट हटाउनु पर्ने नहटाए सरकार हिंसाको पक्षमा रहेको पुष्टि हुने बताएका छन् ।

२०६३ चैतमा भएको गौर राइसमिलको नरसंहारमा २७ जना माओवादी कार्यकर्ताको सामूहिक हत्या भएको थियो । हत्याअघि महिलालाई बलात्कार गरिएको थियो । सो घटना हालको जसपाका अध्यक्ष उपेन्द्र यादवको तत्कालीन पार्टी मधेसी जनअधिकार फोरमले गराएको थियो ।

रेणु यादवले बुधवार गौरमा आयोजित कार्यक्रममा सो नरसंहारलाई गौरवका रुपमा वर्णन गर्दै आफूहरुसँग टकरावमा आउने सिके राउत र उनका कार्यकर्ताको हालत त्यस्तै बनाइदिने चेतावनी दिएकी थिइन् ।

एमालेका नेताहरुले मन्त्रीको अभिव्यक्ति सत्ता गठबन्धनको आधिकारिक धारणा हो कि होइन भन्ने प्रश्नसमेत गरेका छन् ।

  • ७ माघ २०७८, शुक्रबार १३:२८ प्रकाशित