काठमाडौं ।
हिजो स्थगित भएको सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बैठक बस्न लागेको हो । आगामी निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
आजको बैठकले निर्वाचन मितिबारे छलफल गर्ने बताइएको छ । सम्भवत् आज मिति तयको प्रयास हुनेछ । निर्वाचन आयोगले यसअघि नै दलहरुलाई माघको पहिलो सातामै मिति तोक्न भनेको छ ।
तर गठबन्धनमा स्थानीय तहको निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला भन्ने बहस चलिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने पक्षमा छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संघीय चुनाव अगाडि गर्नुपर्नेमा जोड दिइरहेका छन् ।
उक्त बैठक स्थगित भएपछि विहीबार साँझ प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको थियो । सोही भेटवार्तापछि समन्वय समितिको बैठक अपरान्ह ४ बजे बोलाइएको हो ।