प्रसिद्ध तीर्थस्थल मौलाकालीमा केबुलकार बन्दै

केन्द्रभाग मिडिया

नवलपुर ।

नवलपरासी  बर्दघाट–सुस्तापूर्वको गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबुलकार निर्माण सुरु गरिएको छ।

सम्पूर्ण प्रक्रिया सकेर केबुलकार निर्माणका लागि कन्स्ट्रक्सनको काम सुरु भएको हो।नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको मौलाकाली केबुलकार कम्पनीले आगामी एक वर्षभित्र मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालनमा ल्याउने गरी निर्माणको काम सुरु गरेको हो।

केबुलकार निर्माणको काम सुरु भइसकेको उल्लेख गर्दै उनले बढीमा एक वर्षभित्र केबुलकार सञ्चालनमा ल्याउने बताए।उनले आउने माघे सङ्क्रान्तिमा केबुलकार चढेर मौलाकालिका माताको दर्शन गर्न पाइने बताए ।

मौलाकाली केबुलकार कम्पनीले करिब साढे एक अर्बको लागतमा आयोजना अगाडि बढाएको हो। निर्माण सम्पन्नपछि सर्वसाधारणका लागि समेत शेयर निस्कासन गर्ने योजना रहेको उनले बताए।

टपस्टेशनमा कन्स्ट्रक्सन निर्माणका लागि नापजाँचको काम भइरहेको छ। मन्दिर नजिकै रहेको हेलिप्याडमा केबुलकारको टपस्टेशन निर्माण हुनेछ भने मौलाकालिका फेदीमा बटम स्टेशन हुने ढकालले जानकारी दिए।

केबुलकारले एकतर्फी लम्बाई एक हजार २०० मिटर लामो हुनेछ। केबुलकारमा १२ वटा डब्बा राखेर यात्रु ओसारिने उनले बताए।

केबुलकार सञ्चालनमा आएपछि भक्तजन १० मिनेटमै मौलाकालिका मन्दिर पुग्नेछन। अहिले मन्दिर पुग्न करिब एक हजार ८८२ खुड्किलो उक्लिँदा ४५ मिनेट समय लाग्ने गरेको छ।

  • ६ माघ २०७८, बिहीबार १०:११ प्रकाशित