तत्काल निर्वाचनको मिति तोक्न स्थानीय तहका छाता संगठनको माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय तहका छाता संगठनले तत्काल निर्वाचनको मिति तोक्न माग गरेको छ । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले प्रेस विज्ञप्ति निकाल्दै स्थानीय तहको निर्वाचन मिति तोक्न माग गर्दै नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हुन् ।

संविधान र स्थानीय तह निर्वाचन ऐनले एक दिन पनि जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेकाले तत्काल निर्वाचन प्रक्रिया सुरु गर्न संघरमहासंघले ध्यानार्षण गराएका हुन् ।

स्थानीय तहको निर्वाचन भएको पाँच वर्षको कार्यकाल समाप्त हुँदैछ । स्थानीय तहको निर्वाचन ऐन २०७३ बमोजिम तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको अवधि क्रमशस् २०७९ जेठ ७ असार २१ र असोज ७ गते सकिने भएकोले दोस्रो कार्यकालको लागि तत्काल निर्वाचन प्रक्रिया सुरु गर्न नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गरिएको हो ।

ुसंविधान र स्थानीय तह निर्वाचन ऐनले एक दिन पनि जनप्रतिनिधिविहिन स्थानीय तहको परिकल्पना गरेको छैन र स्थानीय तहको कार्यभार प्रदेश वा संघीय सरकारले सञ्चालन र व्यवस्थापन गर्ने पनि व्यवस्था गरेको छैन संविधानले नै जनप्रतिनिधिबिनाको स्थानीय सभा र कार्यपालिकाको व्यवस्था गरेको छैन र म्याद थपको पनि व्यवस्था गरेको छैन, ध्यानाकर्षण पत्रमा भनिएको छ ।

समयमा निर्वाचन हुन नसके संवैधानिक संकट आउने र वार्षिक नीति तथा कार्यक्रम र बजेट स्वीकृत गर्ने स्थानीय सञ्चित कोष व्यवस्थापन, बजेट खर्चको अख्तियारी दिने, कानुन निर्माण प्रक्रिया योजना तर्जुमा कार्यान्वयन र अनुगमन प्रणाली नै अवरुद्ध हुने उनीहरूको भनाइ छ ।

संविधान र विद्यमान कानुन अनुसार स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र अनिवार्य रुपमा गरिसक्नु पर्नेछ । निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले कम्तीमा १ सय २० दिनको समय चाहिने बताइरहेको अवस्थामा सरकारले तत्कालै स्थानीय तहको चुनावको मिति घोषणा गर्नुपर्नेछ ।

  • ३ माघ २०७८, सोमबार १३:३० प्रकाशित