ऋण लिएर फरार दुई ठुला रक्सी व्यापारी दाजुभाईलाई बैंकले दियो ३५ दिनको अल्टिमेटम

केन्द्रभाग मिडिया

काठमाडौं।

ऋण लिएर फरार नेपालकै दुई ठुला रक्सी व्यापारी अभिषेक अग्रवाल र अमित अग्रवाललाई बैंकले अल्टिमेटम दिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले ऋण उठाउने प्रक्रिया अगाडि बढाउँदै ३५ दिनभित्र ऋण तिर्न बैंकमा उपस्थित हुन अल्टिमेटम दिएको हो ।

इन्भेष्टमेन्ट बैंकले उनीहरुसँग करिब ३२ करोड रुपैयाँ उठाउनु पर्ने छ। उनीहरुले करिब ५ करोड रुपैयाँ बराबरको धितो दिएका छन् भने बाँकी मदिराको स्टक बैंकले राखेको छ।

हाइपोथेटिकल ऋण बढी भएकाले धितोबाट मात्र उठ्दैन। त्यही भएर इन्भेष्टमेन्ट बैंकले सार्वजनिक सूचना निकालेर ऋण उठाउने प्रक्रिया सुरु गरेको हो।

अग्रवाल दाजुभाइले विदेशी मदिरा आयात गरेर बिक्री गर्थे। उनीहरुको दरबारमार्ग र कान्तिपथमा भव्य मदिरा पसल छ। उनीहरुले ग्रीनलाइन सेन्टर प्रालिका नाममा ऋण लिएका थिए।

उनीहरुमाथि अन्य बैंकले पनि ऋण दिएका छन। उनीहरुको ऋण पनि समस्यामा परेको छ। बैंकहरुले अग्रवाल दाजुभाइका फरक फरक कम्पनीमा ऋण लगानी गरेका छन्। स्रोतका अनुसार, एभरेष्टको करिब २२ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको करिब ३२ करोड, ग्लोबल आइएमइ बैंकको करिब १८ करोड र मेगा बैंकको करिब २५ करोड ऋण लगानी भएको छ।

इन्भेष्टमेन्ट बैंकबाहेकले भने सार्वजनिक रुपमै ऋण उठाउने प्रक्रिया भने सुरु गरेका छैनन्। उनीहरुले मदिराको स्टक भएको गोदाममा सिलबन्दी गरेका छन्।

बैंकहरुले हाइपोथेटिकल ऋण दिएका कारण सम्बन्धि व्यापारको स्टक भएको गोदाममा एभरेष्ट बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले ताला लगाइसकेका छन्।

  • ३ माघ २०७८, सोमबार १०:२९ प्रकाशित