बुद्ध एयर भन्छ,‘संक्रमण तीव्र फैलिएपनि उडान रोकिन्न’

केन्द्रभाग मिडिया

काठमाडौं।

हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले उडान नरोकिने जनाएको छ । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण तीव्र्र भए पनि बुद्धको कुनै पनि उडान नरोकिने कम्पनीले जनाएको छ। उसले आज एक सूचना जारी गर्दै अधिकतम् सुरक्षा मापदण्ड अपनाएर आफ्नो सेवा निरन्तर जारी रहने जनाएको छ ।

बुद्ध एयरले आफ्नो सेवाग्राहीहरु मध्ये अधिकतम् ९५ प्रतिशत यात्रुले कोभिड विरुद्धको भ्याक्सिन लगाइसकेको र सेवा प्रदान गर्ने कम्पनीका पूर्ण कर्मचारीहरुले समेत खोपको पूर्ण डोज लगाइसकेकाले समस्या नभएको जनाएको छ ।

हाल बुद्ध एयरले उडान गरिरहेका गन्तव्यहरुमा कम्पनीले गरेको कुल एक हजार ८९५ यात्रुहरुमाथि गरिएको सर्वेक्षणमा अधिकतम् एक हजार ७९३ जना यात्रुहरुले खोप लगाइसकेको पाइएको कम्पनीले जनाएको छ । यस अनुसार खोप लगाईसकेका यात्रुहरुको संख्या ९५ प्रतिशत हाराहारी हुन्छ ।

साथै, बुद्ध एयरका सम्पूर्ण कर्मचारीले समेत पूर्ण मात्रामा खोप लगाइसकेको कम्पनीले बताएको छ ।बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले आफूहरूले पूर्ण सावधानीका साथ सेवा दिइरहेकाले सेवा निरन्तर हुने बताएका छन् ।

यद्यपि, यात्रुहरुलाई अधिकतम् भन्दा अधिकतम् कोभिडविरुद्धको प्रोटोकल अपनाउन बुद्ध एयरले आग्रह गरेको छ । सुरक्षा चेकजाँचदेखि ब्यागेज नबुझेसम्म यात्रा अवधिभर मास्कको अनिवार्य प्रयोग गर्न यात्रुहरुलाई भनेको छ भने, नियमित अन्तरालमा सेनिटाईजको प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

  • २९ पुष २०७८, बिहीबार १५:५५ प्रकाशित