यी नौ जिल्ला जहाँ कोरोना संक्रमणको उच्च जोखिम छ!(नामसहित)

केन्द्रभाग मिडिया

काठमाडौं।

विश्वमै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्ररुपमा फैलिएसँगै नेपाल पनि यसको उच्च जोखिममा रहेको छ ।

पछिल्लो हप्तादेखि कोभिड ग्राफ उकालो लागिरहेको छ । संक्रमणबाट देशका अधिकांश जिल्ला ग्रसित बन्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हाल देशभरका २ जिल्ला मात्र संक्रमणमुक्त छ।केही समयदेखि मुगु र मुस्ताङमा संक्रमित छैनन् । बाँकी जिल्ला मध्ये पनि देशका नौ जिल्ला भने उच्च जोखिममा रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयकाअनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरसहित मोरङ, सुनसरी, चितवन, कास्की, बाँके र कैलाली उच्च जोखिममा रहेका छन् । यी जिल्लाहरूमा संक्रमणदर दिनदिनै बढ्दो छ । पछिल्ला तथ्यांकअनुसार यी जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

देशभर पछिल्लो २४ घन्टामा थप तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो बुधबारको तथ्यांक हो। हिजो गण्डकी प्रदेश अन्तर्गतको जिल्ला कास्कीमा ६६ सहित गण्डकी प्रदेशमा १२१ जना संक्रमित थपिएका थिए भने प्रदेशमा हाल ४५१ जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मापदण्ड अपनाई अत्यावश्यकबाहेक बाहिर ननिस्कन अनुरोध सरकारले गरेको छ । सार्वजनिक रुपमा भेला नगर्न र २५ जनाभन्दा बढी एकै ठाउँमा जम्मा नहुन सरकारले निर्देशन यसअघि नै दिइसकेको छ।

  • २९ पुष २०७८, बिहीबार १४:०२ प्रकाशित