सरकारलाई चुनौती दिदैँ बतासले निकाल्यो विज्ञप्ति ! (यस्तो छ विज्ञप्तिको पूर्णपाठ)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नारायणहिटीमा रेष्टुरेन्ट खोल्न लागेपछि विवादमा मुछिएको बतास ग्रुपले आफूहरुमाथि लागेको आरोपको स्पष्टिकरण दिदैँ विज्ञप्ति जारी गरेको छ।

विवादमा तानिएको बतास अर्गनाइजेशनले आफूमाथि लागेको आरोपबारे ७ बुँदे विज्ञप्ति जारी गरेको छ । अर्गनाइजेशनका अध्यक्ष आनन्द राज बतासले बुधबार ७ बुँदे विज्ञप्ति जारी गरेका हुन् । उनले सञ्चारमाध्यमले सत्यतथ्य नबुझी एकपक्षीय रुपमा समाचार प्रकाशित गरि आफुहरु माथि सुनियोजित आक्रमण गरेको आरोप लगाएका छन् ।

विज्ञप्तिमा बतासले नारायणहिटी दरबार संग्रहालय क्याफ्टेरिया भाडा, नेपाल भारतमैत्री पशुपति धर्मशाला, पाटन दरबार क्षेत्र, मानहुँकोट, गण्डकी कृषि सामाग्री केन्द्र, अक्सिजन प्लान्ट, सेती नदी अन्तर्गत रामघाट र मोरे खहरे क्षेत्रमा ड्याम निर्माणसम्बन्धी ठेक्काका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

विज्ञप्तिमा बतासले दरबार संग्रहालय परिसर भित्र क्याफ्टेरिया सञ्चालन गर्न मासिक २ लाख २१ हजार ६१८ रुपैयाँ भाडा तिर्ने गरी बि। पि। एस। लिजिङ एण्ड म्यानेजमेन्ट र नारायणहिटी दरबारबीच सम्झौता भएको बताएका छन् ।

तर, स्थापित कतिपय सञ्चारमाध्यमले मासिकलाई वार्षिक भन्दै समाचार प्रकाशन गरेको उनको गुनासो छ । ‘सो भाडा समेत हाल रहेको क्याफिटेरीया भवनको २३०० वर्गफिटको मात्र हो र त्यस भवन बाहेक प्रत्यक्ष रुपमा जे जति रुपमा जग्गा प्रयोग हुन्छ सो अनुपातमा नारायणहिटी दरबार संग्रहालयको बैठकले तोके बमोजिमको थप भाडा तिर्नुपर्ने शर्त सम्झौतामा स्पष्ट रुपमा उल्लेख हुदाहुदै सो विषयलाई अतिरञ्जित ढङ्गले प्रस्तुत गर्नुमा नियत मै खोट देखियो भन्ने हाम्रो टिप्पणी गलत सिद्ध हुदैन’, विज्ञप्तिमा भनिएको छ ।

जम्मा तीन वर्षका लागि अत्यन्तै कडा शर्तहरुसहित सो संग्रहालय क्षेत्रको क्याफ्टेरिया भाडामा लिएको र त्यहाँ आफ्नो तर्फबाट पाँच करोड भन्दा माथिको लगानी गर्ने योजनासहित तीन करोडभन्दा बढी लगानी गरिसकेको बतासको भनाइ छ । यस्तो अवस्थामा बतास अर्गनाईजेशनमाथि गैरकानुनी ढंगले आक्रमण भएको उनको भनाइ छ ।

यस्तै नेपाल–भारत मैत्री पशुपति धर्मशाला नियम संगत ढंगले आफूले सञ्चालन गरिएको भन्दै बतासले धर्मशाला भाडामा दिने जिम्मेवार निकाय पशुपति विकास कोषलाई प्रश्न गर्नुको साटो उल्टै आफूलाई बद्नाम गर्न खोजिएको बताएका छन् ।

पाटन दरबार क्षेत्रमा केही वर्ष अघिदेखि नै बतास अर्गनाईजेशनले केही कवलकोठाहरु भाडामा लिएको सत्य भएको बतासको भनाइ छ ।बतासको विज्ञप्तिमा भनिएको छ ‘ऐन, नियम र कानुनअन्तर्गत नै बतास अर्गनाईजेशनले भाडामा लिएको सो क्षेत्रका कवलहरु पसल सञ्चालनका लागि अन्य पक्षलाई भाडामा दिने गरी नै लिइएको हो । त्यहाँका सम्पूर्ण पसल कवलहरु अहिलेसम्म समेत भाडामा लागिसकेका छैनन् । बरु, ती खाली पसल कवलहरुलाई भाडामा लिएर विभिन्न व्यापार व्यवसाय गर्न आम नागरिकलाई प्रोत्साहित गरिदिएमा बतास अर्गनाइजेशन सबैप्रति कृतज्ञ रहनेछ’,  ।

यस्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन प्लान्ट स्थापनाका लागि उपकरण नेपालसम्म ल्याउन ढिलो भएकाले काम समयमा काम सम्पन्न गर्न नसकिएको बतास समूहको भनाइ छ ।

यस्तै पोखरा स्थित सेती नदीका रामघाट र मोरे खहरे क्षेत्रमा स्थायी ड्याम निर्माण गरी ३५ वर्ष सम्म नदीजन्य सामाग्री संकलन तथा निकासी गर्ने प्रयोजनका लागि पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी मोडेलमा काम गर्न प्रस्ताव आह्वान गरेको र यो प्रक्रियामै रहेको बतास समूहको विज्ञप्तिमा उल्लेख छ ।

बतासले उच्च तहका नेतासँग आफ्नो राम्रो सम्बन्ध भएको स्वीकार्दै यो लुकाउनु पर्ने कुरा नभएको बताएका छन् । ७ बुँदे प्रष्टीकरणको अन्तिममा बतासले लगानीको उचित क्षतिपूर्तिसहित आजकै मितिमा सरकारले सम्पूर्ण सम्झौताहरू एकमुष्ट खारेज गरेमा आपत्ति नहुने जनाएको छ ।

विज्ञप्तिको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस ।

  • २८ पुष २०७८, बुधबार १३:३६ प्रकाशित