पोखरा ।
पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा दोस्रो दिन ४ खेल सम्पन्न भएका छन् । प्रतियोगितामा महिला तर्फ न्यु डायमण्ड स्पोर्टस् र त्रिभुवन आर्मी क्लव विजयी भएका छन् । पुरुष तर्फ विभागीय टिम नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लब बिजयी भए ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा मंगलबार आयोजक टाइगर ग्रुपलाई ३–० को सेटमा हराउँदै महिला तर्फ न्यु डायमण्डले लगातार दोस्रो जित निकालेको हो ।
न्यु डायमण्डले टाइगर ग्रुपलाई २५–१९, २५–१३ र २५–१६ ले हराएको हो ।
जितसँगै न्यु डायमण्डले २ खेलमा ६ अंक जोड्दैँ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
पहिलो खेलमा न्यु डायमण्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराएको थियो ।
महिला तर्फको अर्को खोलमा त्रिभुवन आर्मीले एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै पहिलो जित निकालेको छ ।
पहिलो सेट एपीएफले २५–१८ ले जितेको थियो । त्यसपछिको सेट २५–१९, २५–२० र २५–१४ ले जित्दै आर्मीले पहिलो जित निकालेको हो ।
जितसँगै आर्मीले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा आर्मी न्यु डायमण्ड स्पोर्ट्स क्लबसँग पराजित भएको थियो ।
पुरुष तर्फको खेलमा विभागीय टिम नेपाल पुलिसले साविक विजेता गण्डकी प्रदेशलाई ३–० को सेटमा हराउँदै पुलिसले लगातार दोस्रो जित निकाल्यो ।
लगातार दोस्रो जित निकाल्ने क्रममा पुलिसले गण्डकीलाई २५–२२, २५–१८ र २५–२० ले हराएको हो ।
जितसँगै पुलिसले २ खेलमा ५ अंक जोडेको छ । पुलिस शीर्ष स्थानमा उक्लिएको छ ।
पहिलो खेलमा पुलिसले हेल्प नेपाललाई ३–२ को सेटमा हराएको थियो ।
गण्डकीको यो पहिलो हार हो । पहिलो खेलमा गण्डकीले एपीएफलाई हराएको थियो ।
गण्डकीले २ खेलमा ३ अंक जोडेको छ।
प्रतियोगिता अन्तर्गत नै मंगलबार त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै सुखद सुरुआत गरेको छ ।
विभागीय डर्बीमा आर्मीले एपीएफमाथि २५–१६, २२–२५, २५–१५ र २५–२१ को सेटमा जित निकालेको हो ।
जितसँगै आर्मीले पहिलो खेलमै ३ अंक प्राप्त गरेको छ । एपीएफको यो लगातार दोस्रो हार हो ।