काठमाडौं ।
पछिल्लो समयमा विवादमा आएको नारायणहिटी ठेक्का प्रकरणमा जोडिएका निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् ।
नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक दाहालले आफूमा कारबाही सिफारिस भएपछि राजीनामा दिए हुन ।
नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयमा छानविन गर्न मन्त्रालयले बनाएको समितिले सोमबार मात्र दाहाललाई कारबाही गर्न सिफारिस गरेको थियो ।
त्यसको भोलिपल्ट आज मंगलबार दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा राजीनामा बुझाएको बताएको छ । कार्यकारी निर्देशक दाहालले मंगलबार समितिको कार्यालयमा राजीनामा बुझाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पुष्टि गरेका छन् ।
‘क्याफेटेरियाले प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको स्पष्ट सीमांकन नगरी’ संग्रहालयका कार्यकारी निर्देशक दाहालले आफ्नै तजबिजले बढी क्षेत्र दिएर थप निर्माण गर्न बतास कम्पनीलाई प्रोत्साहन गरेको देखिएको छानविन समितिको ठहर छ ।