त्रिभुवन विमानस्थलले भन्यो,‘स्वागत र बिदाइमा नआउनु’

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विमानस्थल परिसरमा कडाई गर्ने भएको छ।

कोरोना संक्रमण बढ्न थालेपछि सरकारले स्वास्थ्य मापदण्डमा कडाई र सर्तकता अपनाउन आदेश दिएसँगै विमानस्थल कार्यालयले सर्वसाधारणलाई विमानस्थलमा स्वागत र बिदाइमा नआउन आग्रह गरेको छ।

वैदेशिक रोजगारीमा जाने र स्वदेश फर्किनेको स्वागत र विदाईमा सर्वसाधरण जम्मा हुदाँ अनावश्यक भिड हुने भन्दै जोखिम न्यूनीकरणका लागि विमानस्थलमा अनावश्यक भीडभाड नगर्न र स्वास्थ्य सतर्कता अपनाउन कार्यालयले आज एक सूचना जारी गर्दै अनुरोध गरेको छ ।

कार्यालयद्वारा जारी सूचनामा भनिएको छ,‘यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रु आवागमनको चाप र विमानस्थलमा स्थान सीमितताको कारण अति जरुरी बाहेक स्वागत तथा बिदाइ गर्नका लागि मात्र विमानस्थल नआई दिन यस कार्यालयबाट पटक पटक विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक अपिल गर्दा समेत विमानस्थल आउने आफन्तजनको संख्यामा कमी भएको छैन ।’

‘कोभिड १९ का विभिन्न भेरिएन्ट उत्परिवर्तन भैरहेको र हालै नयाँ भेरिएन्ट ओमिक्रोनसहित छिमेकी मुलुकहरुमा कोभिड-१९ तीव्र रुपमा फैलिरहेको सन्दर्भ तथा यसको प्रभाव नेपालमा पनि देखिइरहेको अवस्थालाई दृष्टिगत गरी कोभिडको नयाँ भेरिएन्टको संक्रमण समेतबाट आफू बच्न तथा अरुलाई बचाउन विमानस्थलमा अनावश्यक भीडभाड नगरिदिन हुनका साथै हवाई यात्रा गर्दा अपनाउनु पर्ने स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डहरुको परिपालना गरी गराई मात्र दैनिक हवाई सेवा सुचारु गर्नु गराउनु हुन सम्बद्ध सबै सरोकारवालाहरुसँग विशेष अनुरोध गरिन्छ ।’ सूचनामा भनिएको छ

  • २७ पुष २०७८, मंगलवार १३:३७ प्रकाशित