पोखरा ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरामा जारी प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लव र गण्डकी प्रदेशले बिजयी सुरुवात गरेका छन् ।
यस्तै महिला तर्फ एपीएफ क्लव र न्यू डायमण्ड स्पार्टस् क्लवले बिजयी सुरुवात गरेका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा महिला तर्फ भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै न्यु डायमण्डले सुखद सुरुआत गरेको हो ।
विभागीय टोलीविरुद्ध न्यु डायमण्डले पहिलो सेट २५–१७ र दोस्रो सेट २५–२२ ले जितेको थियो ।
तेस्रो सेट आर्मीले २५–१३ ले आफ्नो बनायो । चौंथो सेटमा २५–१७ ले आफ्नो बनाउँदै न्यु डायमण्डले सुखद सुरुआत गरेको हो ।
त्यस्तै एपीएफ क्लवले नेपाल पुलिस क्वलवलाई ३–१ को सेटमा हराउदै सुखद सुरुवात गरेको छ ।
प्रतिस्पर्धात्मक खेलमा एपीएफले २६–२४ ले जितेको थियो । दोस्रो सेट एपीएफले २५–१८ ले आफ्नो बनायो ।
तेस्रो सेट पुलिसले २५–२३ ले आफ्नो बनाउँदै खेलमा फर्कने कोशिश गर्यो । चौंथो सेट २५–२३ ले आफ्नो बनाउँदै एपीएफले सुखद सुरुआत गरेको हो ।
पुरुष तर्फको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले हेल्प नेपाललाई ३–२ को सेटमा हरायो । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती दुई सेट गुमाएपनि पुलिसले उत्कृष्ट पुर्नआगमन जित निकालेको हो ।
रोमान्चक खेलको पहिलो र दोस्रो सेट हेल्पले २५–१६ र ३१–२९ ले जितेको थियो । त्यसपछिको दुई सेट पुलिसले २५–१९ र २५–२३ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो ।
पाँचौं सेटमा हेल्पलाई १७–१५ ले हराउँदै पुलिसले विजयी सुरुआत गरेको हो ।
पुरुष तर्फको अर्को खेलमा गण्डकी प्रदेशले एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै सुखद सुरुवात गर्र्यो । गण्डकीले एपीएफमाथि २५–१७, २५–२२ र २५–१७ को सेटमा जित निकालेको हो ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहेको छ ।
राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा पुरुषतर्फ विभागीय टिमहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशको टिमको सहभागिता रहेको छ ।
त्यस्तै महिलातर्फ नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब , न्यु डायमण्ड र आयोजक टाइगर ग्रुप अफ पोखराको सहभागिता रहने छ ।
प्रतियोगिताको महिला र पुरुष उपाधि विजेता टिमले समान ३÷३ लाख, उपविजेता टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले समान ७५ हजार र सान्त्वना हुने टिमले ३५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई समान २५÷२५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई समान १०÷१० हजारसहित ट्रफी प्रदान गरिने छ ।