पोखरा ।
२० औँ आहा रारा गोल्डकप यही माघ ६ देखि १५ गतेसम्म पोखरा रंगशालामा आयोजना हुने भएको छ ।
‘खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगितामा १० टिमले प्रतिष्पर्धा गर्ने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ।
आहा रारा गोल्डकपमा संकटा क्लब, नेपाल पुलिस फुटबल क्लब,मछिन्द्र क्लब,हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब,नेपाल ए. पि. एफ. क्लब, बिवाईएससी मिनेसोटा यू.एस.ए, मनाङ्ग मर्याङ्गदी क्लब र आयोजक सहारा क्लब पोखराबीच प्रतिष्पर्धा हुने क्लबका प्रेसीडेन्ट सुरज गुरुङले जानकारी दिए ।
यसपाली पनि पुरस्कार नघट्ने बताउँदै प्रतियोगिताको विजेता टिमलाई नगद १० लाख १ हजार रपैयाँ र उपविजेता टोलीलाई ५ लाख १ हजार रुपैयाँ प्रदान गरिने आयोजक सहारा क्लबले बताएको छ। । पुरस्कार राशी बढाउने कुरा आएमा अन्तिम पत्रकार सम्मेलनमा जानकारी दिइने बताइएको छ।
प्रतियोगिताबाट अनुमानित १ करोड ३६ लाख १ हजार रुपैया आम्दानी हुने र १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगिताबाट बचत हुने रकम क्लबद्वारा सञ्चालित सुर्य बहादुर के. सी.स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने आयोजकले बताएको छ । हाल तेश्रो व्याचको रुपमा उक्त एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रा। लि। को उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ । सर्वोत्कृष्ट खेलाडी पुरस्कार सिताजको अप्रिला स्कुटर, सर्वाधिक गोलकर्ता पुरस्कार प्रायोजन हंगकंग निवासी अधिवक्ता लोकदोहोरि गायक समाजसेवी देव गुरुङ रहेका छन्।
अफिसियल बैंक लुम्बिनी विकास बैंक, इन्टरनेट पार्टनर एयरसन , प्रत्यक्ष प्रसारण ग्यालेक्सी फो.के. टेलिभिजन,अफिसियल , स्पोर्ट वयर पार्टनर एक्स टेप, अफिसियल एयर लाइन्स बुद्ध एअर रहेको छ ।
राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद, गण्डकी र अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, कास्की जिल्ला फुटबल संघ, सहारा यु.के., सहारा क्लब हङ्गकङ्ग, सहारा क्लब अष्ट्रेलिया,समेतको बिशेष सहयोग र पोखरा महानगरपालिकाको सहयोग रहेको छ ।