गण्डकीमा बन्यो सत्ता गठबन्धको संयन्त्र, कांग्रेसका शर्माले गरे नेतृत्व

केन्द्रभाग मिडिया

पोखरा ।
राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन गण्डकीमा संयन्त्र तयार पारिएको छ । । प्रदेश स्तरीय गठबन्धनमा रहेका शिर्ष नेताहरुको उपस्थितिमा आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको । गठबन्धनमा आवद्ध ५ दलका तर्फबाट प्रतिनिधित्व गर्ने नेताहरु संयन्त्रमा छन् । निर्वाचनका लागि प्रचार र परिचालनको कार्यक्रम लिएर गठबन्धनको संयन्त्र जिल्ला दौडाहमा जाने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले गठबन्धनका साझा उम्मेदवारलाई जिताउन प्रदेशका ९ जिल्लामा जाने कार्यक्रम तय भएको जानकारी दिए । मनाङ र मुस्ताङमा भने उपयुक्त समय मिलाएर कार्यक्रम तय गरिने उनले बताए ।

पौष २८ गते नवलपुर, २९ गते कास्की, ३० गते तनहुँ, माघ २ गते लमजुङ, माघ ३ गते पर्वत र बागलुङ, माघ ४ गते म्याग्दी, माघ ५ गते स्याङजामा गठबन्धनको नेतृत्व निर्वाचन कार्यक्रम लिएर पुग्ने बताइएको छ ।

जिल्ला जिल्लामा पुगेर स्थानीय तहका प्रतिनिधिलाई भेट्ने र गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिने शर्माले बताए ।
राष्ट्रियताको रक्षा र संघीय लोकतान्त्रिक प्राणालीलाई अझ सुद्धृढ पार्न ५ दलिय गठबन्धनको निरन्तरता रहेको पनि शर्माको भनाई थियो ।

नेकपा माओवादी केन्द्र गण्डकीका संसदीय दलका नेता हरिबहादुर चुमानले देशलाई पछाडी फर्कन नदिन गठबन्धन बनेको र निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन प्रतिवद्ध रहेको बताए ।

एकिकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाका नेताले पनि गठबन्धनको विकल्प नरहेको र आगामी दिनमा पनि गठबन्धनलाई निरन्तरता दिनुपर्ने तर्क गरेका थिए ।

सत्ता गठबन्धका तर्फबाट गण्डकीमा तीन जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसका तर्फबाट कमला पन्त, नेकपा माओवादीका तर्फबाट शुरेश आलेमगर र भुवन बहादुर सुनारले उम्मेदवारी दर्ता गराएका छन् ।

  • २५ पुष २०७८, आईतवार १७:४३ प्रकाशित