पोखरा।
शहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले च्यासल सुथ क्लबमाथि ५–० को जित निकालेको छ। पोखरा रंगशालामा शनिबार भएको खेलमा मनाङले च्यासललाई हराएको हो ।
एकपक्षीय खेलमा मनाङको जितमा ओलावाले अफिजले ह्याट्रिक गरे । एडिलाजा सोमिडे र दिनेश राजवंशीले एक एक गोल गरेका थिए। मनाङले चौथो मिनेटमा सोमिडेको गोलमा अग्रता लिएको थियो । ४३औँ मिनेटमा ओलावालेले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए । ८६औँ मिनेटमा दिनेशले गोल गर्दै मनाङको अग्रता थप बलियो बनाएका थिए ।
इन्जुरी समयमा ओलावालेले लगातार दुई गोल थप्दै ह्याट्रिक पूरा गरे । यससँगै मनाङले पोखारमा भएका खेलमा शतप्रतिशत जित निकाल्यो । पोखरामा तीन खेल खेलेको मनाङले यसअघि विभागीय टोली नेपाल पुलिस र ब्रिगेड ब्वाइज क्लबलाई हराएको थियो ।
ह्याट्रिक गर्न सफल ओलावाले ‘म्यान अफ दि म्याच’ घोषित भए। उनले १० हजार रुपियाँ पुरस्कार प्राप्त गरे । ‘इमर्जिङ प्लेयर’ घोषित च्यासलका आशिष राईले पाँच हजार रुपियाँ पुरस्कार पाए । जितसँगै दोस्रो स्थानमा यथावत रहेको मनाङले आठ खेलबाट १९ अंक बनाएको छ । समान खेलबाट पाँच अंक बनाएको च्यासल रेलिगेसनको दबाबमा छ ।