अस्पतालहरुलाई सरकारको निर्देशनः ‘संक्रमण फेरि फैलिन थाल्यो, तयारी अवस्थामा रहनु’

केन्द्रभाग मिडिया

सरकारले फेरि संक्रमण फैलिन थालेको भन्दै देशभरका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

आज कोरोनाको नयाँ भेरिन्ट ओमिक्रोनको २४ संक्रमित थपिएसँगै संक्रमण अझै फैलिन सक्ने भन्दै अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरिएन्टले गर्दा हुनसक्ने अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको हो।

मन्त्रालयले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै सहि तरिकाले हात धुन, मास्कको प्रयोग गर्न, बारम्बार हात धुन तथा दुई मिटरको दूरी कायम गर्न समेत सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।

यसअघि नेपालमा तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ । १ हजार १४६ पोजिटिभ नमुनाहरूको एसजिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरूमा २२ प्रतिशत एसजिन नेगेटिभ पत्ता लागेका हो । एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनाहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा।संगीता कौशल मीश्रले उपचारका लागि आवश्यक पर्ने अक्सिजनलगायत अन्य सामाग्रीहरुको यथेस्ट जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताइन् । यस्तै, सीमा नाकाहरुमा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउन पनि सरकारले निर्देशन दिएको छ ।

  • २३ पुष २०७८, शुक्रबार १४:५६ प्रकाशित