काठमाडौं।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको निर्वाचन अघि नै आफ्नो पार्टीको हार स्वीकार गरेका छन् ।
उनले आफ्नो पार्टीले सोचे अनुसारको परिणाम हासिल गर्न नसक्ने स्वीकार गर्दै यसबाट आत्तिन हाल्न भने नपर्ने बताएका छन् । पार्टीको जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले संसदीय संघर्षको मैदानमा एमालेमाथि गर्न सक्ने हानिकारक प्रहारको अन्तिम किस्ता नै यो राष्ट्रियसभाको निर्वाचन हुने बताए ।
माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको परिणाम एमालेका लागि अलि प्रतिकुल आउन सक्ने भन्दै उनले त्यो आजको जनमत र आजको यथार्थ नहुने पनि बताए ।
आगामी १२ गते निर्वाचन हुने राष्ट्रियसभा १९ सिट जित्ने गठबन्धनको तयारी छ ।राष्ट्रिय सभाको १९ सदस्य पदका लागि हुने निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य सात सदस्य निर्वाचित हुनेछन् ।
यो निर्वाचनमा एमालेले एक्लै उम्मेदवारी हालेको छ भने गठबन्धन दलले उम्मेदवार भागबन्डा गरेर उम्मेदवारी दिएका छन् ।