स्याङ्जाका प्रशासनमा सेवाग्राहीको थेग्न नसकिने भिड

केन्द्रभाग मिडिया

स्याङ्जा ।

जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा सेवाग्राहीको चाप निकै बढेको छ ।सेवाग्राहीको चाप बढेपछि अहिले जिल्ला प्रशासन र इलाका प्रशासनका कर्मचारीलाई सेवा दिन भ्याईनभ्याई भएको छ ।

दैनिक सेवाग्राहीको चाप बढेपछि प्रशासनले कार्यालय समय भन्दा अबेर सम्म समय खर्चेर सेवा दिन बाध्यकारी बनेको छ । यो सेवा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङ बाध्यकारी बनेको हो ।

मतदाता नामावली, राष्ट्रिय परिचयपत्र बनाउन नागरिकता अनिबार्य हुने भएपछि अहिले जिल्लाका दुई प्रशासन कार्यालयमा थेग्नै नसक्ने गरी सेवाग्राहीको भिड लागेको छ ।

जिल्ला प्रशासन भन्दा पनि इलाका प्रशासनमा अझ बढी सेवाग्राहीको चाप देखिएको छ । एक सातामा मात्रै जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट ७ सय ५८ जनाले नागरिकता लिएका छन् ।

दैनिक २० देखि ३० ओटा सम्म वितरण हुदै आएको नागरिकता यो साता दैनिक झण्डै १ सय देखि १ सय ५० सम्म पुग्ने गरेको तथ्याङ्क छ ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले सबै स्थानीयतहमा मतदाता नामावली संकलनका लागि पठाएको थियो ।

तर सबै नागरिकले स्थानीयतहमा मतदाता नामावलीमा फोटो नखिचाएपछि अहिले जिल्ला प्रशासन र इलाका प्रशासनमा कार्यालयले सो सुविधा उपलब्ध गराउदै आएको छ ।

जसले गर्दा दुवै प्रशासनमा अहिले मतदाता नामावलीमा फोटो खिचाउने नागरिकको भिड लाग्ने गरेको इलाका प्रशासन कार्यालय वालिङका प्रमुख नवराज बरालले बताए ।

राष्ट्रिय परिचयपत्र, मतदाता नामावली र नागरिकता एकै ठाउबाट वितरण गर्नुपर्ने अवस्थाले सेवाग्राहीको चाप बढेको उनले बताए ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका अनुसार एक सातामा १ हजार २ सय ४३ जनाले मतदाता नामावलीमा फोटो खिचाएको जनाएको छ ।
मतदाता नामावलीमा फोटो खिचाउने अभियान शुभारम्भ भएदेखि अहिले सम्म स्याङ्जामा ८ हजार १ सय ८१ जनाको नामावली संकलन भएको निर्वाचन कार्यालयका प्रमुख गुरुप्रसाद मरासिनीले बताए ।

  • १६ पुष २०७८, शुक्रबार १६:२७ प्रकाशित