आँधीखोला गाउँपालिका वडा नं २ को वडा कार्यालय भवनको शिलान्यास

केन्द्रभाग मिडिया

आँधीखोला गाउँपालिका वडा नं.२ को वडा कार्यालय भवनको शुक्रबार शिलान्यास गरिएको छ ।

एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण थालिएको अपाङ्गमैत्री तीनतले भवनको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले शिलान्यास गरेका हुन् ।

भवनको शिलान्यास गर्दै अध्यक्ष पौडेलले तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गरेर भवन हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए ।

अध्यक्ष सुधिर कुमार पौडेलले आफ्नो कार्यकालमा सबै वडा कार्यालय भवन निर्माण गरी वडा बासिन्दालाई व्यवस्थित रुपमा सेवा प्रवाह गर्ने प्रतिबद्धता गरेका थिए ।

चुनावी प्रतिबद्धता अनुसार पाँच वटा वडा कार्यालय भवन सम्पन्न भएको बताउँदै आगामी वर्ष वडा नं २ को भवनसमेत सम्पन्न गरी ६ वटै वडा कार्यालय भवन सम्पन्न गर्ने स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलले वडा कार्यालय भवन निर्माणमा गुणस्तरीयता कायम गर्न स्थानीयको सहयोग आवश्यक भएको बताउँदै निर्माणको रेखदेख र अनुगमनका लागि सबैलाई आग्रह गरिन् ।

कुनै पनि विकास निर्माणको सवालमा गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताएका छन् ।

यस्तै विकास निर्माणका सवालमा जनसहभागिता अनिवार्य रहेकोले जनसहभागिता विनाको विकास सफल नहुने भएकोले स्थानीय जनताको सहभागिता जुटाएर अगाडी बढ्न जरुरी रहेको बताएका छन् ।

भवन निर्माणका लागि रु १ करोड ८७ लाख ८३ हजार ४ सय ८४ मा टेन्डर गरिएकोमा २५।९१ प्रतिशत ठेक्का घटेर रु १ करोड ३९ लाख १६ हजार ६ सय ५१ मा विवेक एण्ड कुँवर, विद्यामोहन जे.भी. वालिङ ५ स्याङ्जाले भवन निर्माण कार्यको जिम्मा लिएको गाउँपालिका कार्यालयले बताएको छ ।

निर्माण कम्पनीसँग २०७८ श्रावण १३ गते सम्झौता भएको र आगामी २०७९ श्रावण १३ गते पूर्ण रूपमा सम्पन्न हुने गाउँपालिकाका इन्जिनियर प्रकाश पौडेलले बताए ।

  • १६ पुष २०७८, शुक्रबार १६:१३ प्रकाशित