झ्याप्प बत्ती आउने जाने किन भइरहेछ ? यस्तो छ कारण !

केन्द्रभाग मिडिया

केही दिनदेखि काठमाडौं पोखरासहित देशका अधिकांश स्थानमा बत्ति आउने जाने भइरहेको छ ।

चिसोका कारण बिजुलीको माग अधिक र ओभरलोडेड विद्युत् प्रसारण हुँदा पुराना उपकरणमा समस्या भएपछि विभिन्न स्थानहरूमा विद्युत् आपूर्तिमा समस्या आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । केही दिनयता काठमाडौँ उपत्यकासहित देशका केही भागमा बत्ती जाने मात्र नभई कतिपय स्थानमा भोल्टेज कम हुने समस्या पनि बढेको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले अत्यधिक माग भएर वितरण प्रणालीमा समस्या भएका कारण विद्युत् आपूर्तिमा समस्या आएको जानकारी दिएका छन् ।

बुधबारको झरीपछि बढेको चिसोका कारण विद्युत् माग बढेको र त्यसको लोड विद्युत् आपूर्ति गर्ने उपकरणहरू ट्रान्सफर्मर, बिजुलीका तारमा परेको कारण विद्युत् बिजुली जाने समस्या भएको विद्युत् प्राधिकरणका प्रवक्ता भट्टराईले बताए ।

देशभरको अवस्था हेर्दा बुधबार १७ सय मेगावाट विद्युत् माग रहेकोमा बिहीबार १६ सय मेगावाट विद्युत् माग रहेको छ ।

विद्युत् ओभरलोड भएर समस्या आएका संरचना प्राधिकरणका प्राविधिकहरूले मर्मत गरिरहेको प्राधिकरणले बताएकों छ । एक ठाउँमा मात्र नभएर विभिन्न ठाउँमा समस्या आउँदा र जनशक्ति कम तथा चिसोका कारण केही स्थानमा मर्मतको काम ढिलाइ भएको बताइएको छ।

  • १५ पुष २०७८, बिहीबार १५:५९ प्रकाशित