भोलिदेखि स्ट्रीट फेस्टिवल : दर्शकलाई जोनसन खोपको व्यवस्था, रात्रीकालीन बस सेवा पनि

केन्द्रभाग मिडिया

फोटोः खिम काजी

पोखरा ।

भोलि देखि सुरु हुने सडक महोत्सव अवलोकनका लागि लेकसाइड पुग्ने दर्शकलाई जोनसन एण्ड जोनसन खोप दिइने भएको छ ।  महोत्सवको तयारीबारे जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक रेष्टुरेन्ट एण्ड बार एसोसियन रेवान पोखराले सो कुराको बताएको हो ।

आयोजक रेबान पोखराले महोत्सव अवलोकन गर्न आउनेको इच्छा अनुसार खोप उपलब्ध गराइने संयोजक रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए ।बरालका अनुसार उद्घाटनका दिन र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म स्ट्रीट नम्वर ५ मा खोप उपलब्ध गराइनेछ ।

भोलि पुस १५ गतेबाट सुरु हुने महोत्सव दिउँसो १ बजे कोमागाने पार्क लेकसाइडमा गृहमन्त्री बालकृष्ण खाँडले उदघाटन गर्ने पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए ।महोत्सव पुस १७ सम्म सञ्चालन हुनेछ । सधैं ५ दिन चल्ने महोत्सव कोरोनाका कारण गत वर्ष देखि छोट्याईएको हो । यसअघिको दुईवटा वर्षमा महोत्सव स्थगित नै गरिएको थियो ।

कोभिड–१९ को संक्रमणको जोखिमलाई दृष्टिगत गरी स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै महोत्सव आयोजना गरिने आयोजकले बताएकोे छ । महोत्सवको उद्घाटन कार्यक्रममा २५ भन्दा बढी बाजागाजा सहित साँस्कृतिक समूहको सहभागिता रहने महोत्सवका संयोजक नरेश भट्टराईले जानकारी दिए।

उनका अनुुसार महोत्सव स्थलमा ३० भन्दा बढी हस्तकलाको स्टल रहनेछ । महोत्सवमा कोमागाने पार्कभित्र हुने कार्यक्रमका लागि दिउँसोको लागि ५० रुपैयाँ र बेलुका कन्सर्टको लागि १ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको उनले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालिन कन्सर्ट, डुङ्गा दौड, ह्वीलचियर दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगिता गर्ने भएको छ । महोत्सव अवलोकनमा जानेहरुको सहजताका लागि रात्रिकालिन बस सेवाको पनि व्यवस्था गर्ने आयोजकले जनाएको छ ।

  • १४ पुष २०७८, बुधबार १७:०१ प्रकाशित