पर्यटन बोर्डसँग अख्तियारले माग्यो आर्थिक कारोबारका कागजात

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल पर्यटन बोर्डकोे कार्यालयमा अख्तियार आयोगले आफ्नो ध्यान केन्द्रित गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृतले आर्थिक अनिमितता गरेको उजुरी परेपछि आयोगले छानबिन सुरु गरेको छ । आयोगले बोर्डसँग आर्थिक कारोबारका कागजात मागेको बताइएको छ।

पछिल्लो सयम विवादसँगै आर्थिक पारदर्शितामा प्रश्न उठेको हो ।सीईओ रेग्मीले आफ्नो कार्यकक्ष निर्माणमा सार्वजनिक खरिद ऐनविपरीत जथाभावी खरिद गरी भुक्तानी दिएको, त्रिभुवन विश्वविद्यालयसँग पर्यटन क्षेत्रको हितभन्दा पनि व्यक्तिगत लाभ पुग्ने गरी प्रक्रिया पूरा नगरी ५ करोडको परियोजना संचालन गरेको, बोर्डको उद्देश्यभन्दा फरक प्रयोजनमा होटलमा भएको खर्चको भुक्तानी गरेकोजस्ता काममा अनियमितता भएको उजुरीपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो ।

विवादमा तानिए पछि निलम्बित रेग्मीमाथि छानबिन गर्न पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा समिति बनाइएको छ । पुस २ को बोर्ड बैठकले सो समितिलाई प्रतिवेदन पेस गर्न १५ दिनको समय सीमा तोकिएको छ । पर्यटन बोर्डलाई व्यक्तिगत फाइदामा मात्र बढी प्रयोग गरेको र आफन्तसँग मिलेर मनखुसी करोडौं रकम व्यक्तिगत लाभ हुने गरी खर्च गरेको जस्ता आरोप रेग्मीमाथि छ ।

रेग्मी बेलायतबाट फर्कँदा ६ बोतल रक्सी ल्याउने क्रममा भन्सार विभागका कर्मचारीमाथि हातपात गरेको भिडिओ सार्वजनिक भएपछि झन् विवादमा तानिएका थिए ।

  • १४ पुष २०७८, बुधबार १४:४१ प्रकाशित