माओवादी महासचिवमा कसले मार्ला बाजी ? यस्तो छ प्रचण्डको स्ट्राटिजी !

केन्द्रभाग मिडिया

बहुपदीय अवधारणामा गएको माओवादी केन्द्रले यस अधिवेशनबाट १५ जना पदाधिकारी चयन गर्दैछ र केन्द्रीय समिति पनि छनौट गर्दैछ । माओवादीमा यतिबेल महासचिव चयनको विषय पेचिलो बन्दै गएको छ ।

अध्यक्ष प्रचण्डले आफ्ना दुई खास सहयोगी र विश्वासपात्र जनार्दश शर्मा र वर्षमान पुन मध्ये कसलाई महासचिव बनाउलान भन्ने चासो सर्वत्र देखिएको छ । प्रचण्डले उनीहरु दुई बाहेक पम्फा भुसाल वा अन्य कसैलाई बनाउने भन्ने निर्णय गर्नु पर्ने भएको छ ।

दुबैलाई मिलाएर लैजाने चुनौतीको व्यवस्थापन प्रचण्डले कसरी गर्लान् भन्ने चासो व्याप्त रहेको छ । उता पुनले चीनबाटै प्रचण्डमाथि दबाब बढाएको स्रोत बताउँछ । यता जनार्दन पनि प्रचण्डमाथि दबाब दिन सक्ने नेता हुन। उनले महासचिवमा नमिले चुनावमै जानु पर्नेमा जोड दिएको बताइएको छ।

तर, अध्यक्ष प्रचण्डले भने जारी महाधिवेशनबाट आफू अध्यक्ष र अन्य केन्द्रीय सदस्यमात्र चयन गर्ने तयारी गरेका छन् । पछि केन्द्रीय समितिबाट पोलिटव्युरो र स्थायी कमिटी र पदाधिकारी तोक्ने तयारी उनको छ ।

माओवादीको २९९ सदस्यीय केन्द्रीय समितिमा १५ प्रतिशत दलित, ३५ प्रतिशत महिला, ५ प्रतिशत मुस्लिम समुदाय, २० प्रतिशत ४० वर्ष मुनिका युवाहरु समावेश गर्ने भनिएको छ । त्यसको क्लस्टर अनुसार प्रतिनिधित्व हुने गरी अध्ययन गर्न देव गुरुङको नेतृत्वमा कार्यदल गठन गरिएको छ ।

माओवादीको शीर्ष नेतृत्वले पूराना वा संसदवादी दलहरुजस्तो आफूहरुमा पदको भागवण्डा नहुने र त्यसका लागि नकुद्ने औपचारिक रुपमा बताउँदै आएका छन् तर आन्तरिक रुपमा भने पदाधिकारी र केन्द्रीय नेतृत्वमा पुग्न लविङ गरिरहेका छन् ।

  • १४ पुष २०७८, बुधबार ०९:३५ प्रकाशित