सत्तारुढ गठबन्धनले बनायो एमसीसीबारे समान धारणा बनाउन अध्ययन समिति

केन्द्रभाग मिडिया

पोखरा ।
अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का बारेमा उत्पन्न संशयबारे स्पष्ट हुन सत्तारुढ गठबन्धनले अध्ययन समिति बनाएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको आह्नानमा आइतबार बसेको गठबन्धन बैठकले समान धारणा बनाउन अध्ययन समिति बनाएको हो ।

समितिमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एकीकृत समाजवादीका सर्वमान्य नेता झलनाथ खनाल र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ छन् ।

बैठकमा प्रधानमन्त्री देउवाले संसदको यो अधिवेशनमा एमसीसी पेस गर्ने र अनुमोदन गर्ने विषय प्रस्तुत गरेका थिए । तर, सत्ता साझेदार दलहरूले नै एमसीसीका व्यवस्थाहरूमाथि प्रश्न उठाएपछि गठबन्धनले त्यसबारे समान धारणा बनाउन समिति गठन गरेको हो ।

समितिले एमसीसीका त्यस्ता विवादास्पद बुँदाहरूमाथि अध्ययन गर्ने र त्यसबारे धारणा बनाएर शीर्ष नेताहरूमाझ प्रस्तुत गर्ने सहमति भएको एक नेताले जानकारी दिए ।

‘सबै दलहरूबीच समान धारणा छैन । त्यसैले कुन बुँदा कति गम्भीर र आपत्तिजनक छन् ?कुन बुँदामा के थपघट गर्ने वा संशोधन गर्ने भन्ने विषयमा समितिले छलफल गर्छ, त्यसपछि त्यसलाई शीर्ष नेताहरूमाझ बाट छलफल गरेर अघि बढ्ने भन्ने सहमति भएको छ,’ ती नेताले भने ।

प्रधानमन्त्री देउवाकै आह्वानमा बसेको सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले एमसीसीबारे शंशय उत्पन्न विषयहरूमा स्पष्ट भएपछि मात्रै धारणा बनाउन सकिने बताएका थिए ।

  • ४ पुष २०७८, आईतवार २०:२५ प्रकाशित