पशुपतिनाथ मन्दिरको छत्रावली चोइटियो, अशुभको संकेत

केन्द्रभाग मिडिया

काठमाडौं ।
पशुपतिनाथ मन्दिरको गजुरमा रहेको छत्रावली चोइटिएको छ । छत्रावली चोइटिनुलाई संस्कृतिविद्ले अशुभको संकेत मानेका छन् । गजुरसँग दायाँबायाँ रहेको पाता छत्रावली हो । यसमा सुनको जलप लगाइएको हुन्छ ।

छत्रावली पुरानो भएको र बाँदरहरूले चलाइरहने भएकाले चोइटिएको हुनसक्ने पशुपति क्षेत्र विकास कोषको भनाइ छ । अहिले खट बाँधेर माथि पुगी बाँधेर अड्काउने काम भएको छ ।

मन्दिरको छानोबाट खसेर भक्तजनलाई कुनै चोटपटक नलागोस् भनेर सम्पूर्ण सुरक्षा अपनाइएको बताइएको छ । खट बाँधेर माथि पुग्नका लागि कोषका तर्फबाट क्षमा पूजा गरिएको थियो । एक साताअघि चोइटिएको छत्रावलीलाई मर्मत गर्नका लागि कोषले पुरातत्व विभाग र गुठी संस्थानलाई पत्राचार गरेको थियो ।

गजुरसँगै रहेको छत्रावली चोइटिनु भनेको अशुभको संकेत भएको संस्कृतिविद्हरुले बताए । अहिले सशस्त्र र पहरा गणका दुई दुई जनाको २४ घण्टे सुरक्षा मन्दिरमा छ ।

  • ३ पुष २०७८, शनिबार १७:२६ प्रकाशित