प्रचण्ड विरुद्धको आक्रोसको आगोमा ओलीको घ्यु !

केन्द्रभाग मिडिया

पोखरा ।

केही दिन अगाडि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सेयर बजारका बारेमा दिएको अभिव्यक्तिको विरुद्धमा आक्रोस नथामिएका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसमा घ्यु थपिदिएका छन् । उनले प्रचण्डले सेयर बजारका बारेमा जसरी बोले त्यसको विरोध नभएको आसय प्रकट गरे ।

उनले सेयर बजारबारेमा आफूहरुले त्यस्तो बोलेको भए सडकमा आगो बलिसक्ने बताए । ‘हामीले त्यस्तो बोलेको भए सडक तातिसक्थ्यो । सञ्चारमाध्यमले आगो लगाउँथे। शान्त छ चुपचाप, आराम छ,’ उनले भने, ‘तर अस्थिरता मच्चाउनेहरुले जे गरे पनि कोही बोल्दैनन्।’

एमालेका ४४ केन्द्रीय सदस्यहरुलाई च्यासलमा शपथ दिलाउने क्रममा ओलीले यस्तो बताएका हुन् । ओलीले प्रचण्डले आफूलाई लेनिनभन्दा दुई कदमअघि देखाउन खोजेको आरोप पनि लगाए । ‘प्रचण्डले केही दिनअघि बडो क्रान्तिकारी भएर सेयर बजारलाई साम्राज्यवादीको विकसित रुप भनेछन्’ ओलीले भने, ‘लेनिनभन्दा दुई स्टेप बढ्ता जान्ने भएछन्।

लेनिनले यसअघि पुँजीवाद विकसित भएर साम्राज्यवाद हुन्छ भनेका थिए। तर प्रचण्डले त सेयर बजारलाई साम्राज्यवादको विकसित रुप नै भनिदिएछन्। लेनिनले भन्दा जान्ने भएर थेसिस नै दिएछन्। अर्थतन्त्र नबुझी बोल्दा रहेछन ।’

 

  • २९ मंसिर २०७८, बुधबार १४:५२ प्रकाशित