संसद बैठक स्थगितः अर्को बैठक पुस ६ गते

केन्द्रभाग मिडिया

काठमाडौं ।

संसद बैठक एक साताका लागि स्थगित भएको छ । एमालेको नाराबाजीबीच चलेको संसदमा आज ६ अध्यादेश पेस गर्दै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित गरेका हुन् ।

मंगलबार संसद अधिवेशनको पहिलो बैठक बसेपछि अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

आजको बैठकमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ पेस गर्नेछन् । उनले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन)अध्यादेश २०७८ पेस गरेका छन् ।

त्यस्तै रेल्वे अध्यादेश २०७८, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि संसदमा पेश भएको छ ।

संसद अधिवेशन चालु नरहेको अवस्थामा सरकारले ल्याएको अध्यादेश संसदको पहिलो बैठकमा नै पेस गर्नुपर्ने प्रावधान छ ।

  • २८ मंसिर २०७८, मंगलवार १५:१३ प्रकाशित