पुँजी बजारबारे प्रचण्डको अभिव्यक्तिप्रति विवेकशील साझाको आपत्ति: भनाई तत्काल सच्याउन माग

केन्द्रभाग मिडिया

पछिल्लो समय पुँजी बजारबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिप्रति विवेकशील साझा पार्टीले आपत्ति जनाएको जनाएको छ ।

पार्टीले आज प्रेस विज्ञप्ति जारी गर्दै अर्थतन्त्रको संवेदनशील क्षेत्र मानिने पुँजी बजारलाई उत्तेजित गराउने र बजारमा गलत सन्देश जाने गरी अभिव्यक्ति दिएको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।

प्रचण्डले हालै धितोपत्र बोर्ड साम्राज्यवादको विकसित रूप भन्दै दिएको अभिव्यक्ति पूर्णतः गैह्र जिम्मेवारपूर्ण र अनुत्तरदायी रहेको भन्दै पार्टीले खेद व्यक्त गरेको छ ।

‘पुँजी बजारका विषयमा वामपन्थी अझ खास गरी माओवादी पृष्ठभूमिका नेताहरूबाट पटक पटक असहिष्णु टिप्पणी सार्वजनिक हुँदै आएको छ। आफ्नो अभिव्यक्तिले बजारको मनोविज्ञानलाई कस्तो असर पार्छ भन्ने कुराको गहिरो हेक्का नराखी शेयर बजारलाई जुवा घर करार गर्नेदेखि साम्राज्यवादको विकसित रूपको संज्ञा दिने कार्य उच्च राजनीतिक नेतृत्वमा रहेको अल्पज्ञान र सङ्कुचित सोचाइको उपज हो’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पुँजी बजार बजार दुर्घटनामा पर्दा अन्य धेरै क्षेत्रमा गहिरो असर पर्ने र अर्थतन्त्र दुष्चक्रमा फस्ने भन्दै पार्टीले आफ्नो भनाई तत्काल सच्याउन र आइन्दा संवेदनशील र जिम्मेवार रूपमा प्रस्तुत हुन प्रचण्डलाई आग्रह गरेका छन् ।

यस्तै धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष र स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारीमा योग्य व्यक्ति अविलम्ब नियुक्त गर्न विवेकशील साझा पार्टीले सरकारसँग माग गरेको छ ।

पुँजी बजारलाई नियमन गर्ने निकायहरू लामो समय नेतृत्वविहीन रहँदा नीतिगत कामकारबाही अलपत्र परेको छ ।

  • २७ मंसिर २०७८, सोमबार १६:१० प्रकाशित