अर्थमन्त्री शर्माले शेयर लगानीकर्तालाई भने,‘आफै जिम्मेवार भएर लगानी गर्नुस’

केन्द्रभाग मिडिया

काठमाडौँ ।

पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजी बजारलाई साम्राज्यवादका विकसित रूपको टिप्पणी गरिरहेको बेला शेयरबजार ह्वात्तै घटेको छ । प्रचण्डको टिप्पणीको सर्वत्र आलोचना पनि हुन थालेको छ ।

यता अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका लगानीकर्ताले दीर्घकालमा लाभ दिने कम्पनी छानेर मात्रै लगानी गर्न आग्रह गरेका छन्। ‘शेयर बजारमैत्री नीति तय गर्न, संस्थागत संरचनाको परिवर्तन र पारदर्शीतालगायतका विषयमा स्पष्ट पार्न सरकार तयार छ’, उनले भने ‘ अर्थमन्त्रीले शेयर बजार बढाउने घटाउने गर्दैन, लगानीकर्ता आफै जिम्मेवार भएर लगानी गर्नुस् ।’

बीमा समितिको नयाँ भवनको आज ललितपुरमा शिलान्यास गर्दै अर्थमन्त्रीले कम्पनी चिनेर ढुक्कले लगानी गर्न प्रोत्साहित गरे । पछिल्लो समय शेयर बजारमा आएको गिरावटको दोष आफूमाथि लगाएको भन्दै उनले विभिन्न प्रलोभनमा पारेर सीमित व्यक्तिले लाभ उठाएको र शेयर बजार घट्नुको आरोप आफूलाई लगाइएको बताए । उनले भने,‘अर्थमन्त्रीले शेयर बजार घटायो भन्छन्, यथार्थ त्यसो होइन । लगानीकर्ताको लगानी सुरक्षा गर्न सरकार प्रतिवद्ध छ । म प्रतिवद्ध छु ।’

सीमित व्यक्तिको चलखेलमा बजार घटाउने अनि मन्त्रीलाई गाली गर्ने विषय आफैमा नमिल्ने उनको भनाइ छ । अर्थमन्त्रीले भने,‘धान खाने मुसो, चोट पाउने भ्यागुतो जस्तो भो ।’ ‘घटाउने मान्छे कहाँ–कहाँ हुन्छन् । कसले घटाउछन्, कसले बढाउछन् त्यही संस्थालाई थाहा होला’, मन्त्री शर्माले भने,‘लगानीकर्ताको लगानीको रक्षा तथा संरक्षण गर्ने कुरामा अर्थमन्त्रालय गम्भीर छ । त्यसतर्फ ध्यान पनि दिइएको छ ।”

  • २७ मंसिर २०७८, सोमबार १५:५२ प्रकाशित