पौडेललाई भेट्न अचानक देउवा किन पुगे बोहोराटार ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

महाधिवेशनमा अस्वस्थ प्रतिष्पर्धा भएको भन्दै बाहिरिएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले भेट गरेका छन् ।

देउवाले गएराती पौडेल निवास बोहोराटारमा पुगेर भेट गरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । देउवाले पौडेललाई महाधिवेशन प्रक्रियामा फर्किन आग्रह गरेको बताइएको छ ।

भेटमा देउवा र पौडेलबीच समसामयिक राजनीति र कांग्रेस महाधिवेशनको बारेमा छलफल भएको बताइएको छ। देउवाले आफूलाई सहयोग गर्न पनि भेटमा आग्रह गरेका छन् ।भेटमा देउवाले पौडेललाई भने, ‘राष्ट्रका लागि तपाईंको आवश्यकता छ, राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस्।’

पौडेलले महाधिवेशनमा अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको देउवालाई जानकारी गराएको बताइएको छ। पौडेलले ‘महाधिवेशनमा आफ्नो सिद्धान्त र आदर्श विपरीत अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको बताएका थिए। महाधिवेशनमा प्रतिष्पर्धामा रहेकाहरुलाई स्वस्थ प्रतिस्पर्धा गर्न र कांग्रेसलाई कांग्रेस जस्तो बनाउन पौडेलले आग्रह पनि गरेका छन् ।

  • २६ मंसिर २०७८, आईतवार ०९:२४ प्रकाशित