सभापति छान्न फेरी जुट्यो संस्थापन इतर समूह कोइराला निवासमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक महामन्त्री शशांक कोइरालाको निवास महाराजगन्जमा सुरु भएको छ ।

बिहान अनुपम फुडल्यान्डममा बसेको बैठकले सभापतिका आकांक्षीद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालासँग वार्ता गर्न छुट्टाछुट्टै समूह बनाएको थियो । अहिलेको बैठकमा वार्ता गर्ने टिमले नेताहरूको धारणा, आग्रह र समाधानको बाटोका विषयमा ब्रिफिङ गर्ने बताइएको छ ।

बिहान बसेको बैठकले अर्जुननरसिंह केसी, बलबहादुर केसी र महेश आचार्यलाई प्रकाशमान सिंहसँग वार्ता गर्न पठाएका थियो भने गगन थापा, गुरु घिमिरे, चन्द्र भण्डारी र धनराज गुरुङलाई डा. शेखर कोइरालासँग वार्ता गर्न पठाएका थियो ।

त्यसमध्ये केसीसहितको टोलीले प्रकाशमान सिंहले खोलेको सम्पर्क कार्यालयमै गएर वार्ता गरेका थियो । युवा नेताहरूको टोलीले कोइरालासँग केन्द्रीय समिति बैठक सुरु हुनुअघि पार्टी कार्यालयमै वार्ता गरेको थियो ।

दुवै समूहको वार्ताबाट आएका निष्कर्ष बैठकमा पेस भएपछि आकांक्षी नेताद्वयलाई बैठकमा बोलाउने वा आफैँ भेटेर कुरा गर्न भन्ने विषयमा निर्णय हुने नेता गुरुराज घिमिरेले जानकारी दिए ।

  • २३ मंसिर २०७८, बिहीबार १७:२२ प्रकाशित