जनप्रियको ३० औं वार्षिकोत्सवमा सरसफाइ कार्यक्रम

केन्द्रभाग मिडिया

पोखरा ।

जनप्रिय बहुमुखी क्याम्पसले ३० औं वार्षिकोत्सवको सन्दर्भमा बृहत् सरसफाइ कार्यक्रम विहिबार सम्पन्न गरेको छ ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरीले माक्स, पञ्जा, कुचो बाल्टी, डस्वीन बितरण गरेर सरसफाई कार्यक्रमको शुभारम्भ गरेका थिए । गिरीले भने ‘शैक्षिक वातावरण स्वस्थ बनाउन सरसफाइको संस्कार अपरिहार्य छ । सफाशान्त वातावरणमा ज्ञान लिन र दिन आफैबाट सुरु गर्नुपर्छ । ’

क्याम्पस प्रमुख विरञ्जी गौतमले भने ‘शिक्षासँगै सरसफाइ क्रियाकलाप कायम राख्नु शैक्षिक वातावरण निर्माण गर्नु हो ।’ क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट दुई पटक गुणस्तर मापनको प्रमाणपत्र पाउँदा अनुगमनटोलीले क्याम्पसको सरसफाइ र स्वच्छ वातावरणलाई मापन गरेको स्मरण गरे ।

पब्लिक क्याम्पस कर्मचारी संघ जनप्रिय बहुमुखी क्याम्पस इकाइका अध्यक्ष देवी पनेरुले फोहर गर्ने भन्दा सरसफाई गर्ने सभ्य नागरिक हुन भन्ने धारणा राख्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । प्रात र दिवा सत्रमा ५ हजार विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसले देशभरिका सामुदायिक क्याम्पस मध्ये २०७२ र २०७३ मा शिक्षामन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ ।
क्याम्पस परिसरमा फोहर मैला व्यवस्थापनका लागि संकलन केन्द्र नै राखिएको छ ।

महानगरपालिकालाई सरसफाई करसँगै सङ्कलित फोहरमैला बुझाउँने गरेको जानकारी प्रशासक महादेव पालिखे दिए । बृहत् सरसफाइ कार्यक्रम क्याम्पस परिसरहुँदै रत्नचोक र एयरपोर्टचोकसम्म गरिएको थियो । सरसफाइमा क्याम्पस सञ्चालक समिति, सम्मानार्थ संरक्षक, सिनेटर, प्राध्यापक, कर्मचारी, विद्यार्थी र अभिभावहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन, विभिन्न संगठनका विद्यार्थी प्रतिनिधिहरूको सक्रिय सहभागित थियो । आफ्नै घरआँगन र सडकमा सरसफाइका लागि क्याम्पसले पहल गर्दा स्थानीय बासिन्दाले खुशी हुँदै साथ दिएका थिए ।

क्याम्पसले शैक्षिक गतिविधिसँगै विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ । वार्षिकोत्सवको छेको पारेर भलिवल, ब्याडमिन्टन, रस्साकसी, बास्केटबल, टेवुलटेनिस, नृत्य, हाजिरीजवाफ, कविता, निबन्ध, वक्तृत्वकला, बुद्धिचाल प्रतियोगिता भइरहेका छन् । बितेजालाई मंसिर २५ गते शनिबार आयोजित वार्षिकोत्सव समारोहमा पुरस्कार र पदक प्रदान गरिने विद्यार्थी हितशाखा प्रमुख गोपालप्रसाद बरालले बताए ।

क्याम्पसको वार्षिकोत्सवकै सन्दर्भमा ‘जलवायु परिवर्तन एवम् न्युनीकरण’ विषयक वक्तृत्वकला कार्यक्रम सम्मन्न भयो । अन्तिम चरणका १७ जना प्रतियोगी मध्ये दिपशिखा सुवेदी प्रथम, हिकमतजंग कार्की द्वितीय र सागरप्रसाद शर्मा तृतीय भए । श्रीकान्त शर्मा खतिवडा, पितृराज बाँस्तोला र सुरेश रानाभाट प्रतियोगिताको निर्णायक मण्डलमा रहेका थिए । जनप्रिय साहित्य समाजका अध्यक्ष आनन्दमणि रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रमाको सञ्चालन वेदहरि तिमिल्सिनाले गरेका थिए ।

  • २३ मंसिर २०७८, बिहीबार १७:०८ प्रकाशित