साझा उम्मेदवार छान्न बोलाइएको पौडेल समूहको बैठकमा सभापतिका दाबेदारनै देखिएनन्

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयास जारी छ । मंगलबार छलफलमा जुटेका नेता बुधबार पनि छलफलमा जुट्ने भन्दै छुटेका थिए । पौडेलले बिहान ९ः३० बजे बत्तिसपुतलीको अनुपम फुडल्ण्डमा छलफलका लागि आफु पक्षका नेतालाई बोलाए पनि सभापतिका दावेदार भने कोही पनि आएनन् ।

संस्थापन इतर पक्षबाट बरिष्ठ नेता पौडेलसहित शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला सभापतिका दाबेदार छन् । अनुपम फुडल्याण्डमा केन्द्रीय सदस्य, नव निर्वाचित प्रदेश सभापति, जिल्ला सभापति र पूर्व जिल्ला सभापति जम्मा भएका छन् ।

बैठकमा पौडेल पुगे पनि अन्य आकाङ्क्षीहरू भने पुगेनन् । सभापतिका दावेदारहरु नआए पनि अन्य नेताहरु छलफलमा बसेका छन् । पौडेल भने बैठकस्थलबाट बाहिरिएका छन् ।

मंगलबार साँझ पनि संस्थापन इतर पक्षको बैठक बसेको थियो । बैठकपछि पौडेलले बुधबार साँझसम्म आफ्नो समूहबाट सभापतिको साझा तय गर्ने दाबी गरेका थिए ।

  • २२ मंसिर २०७८, बुधबार ११:२९ प्रकाशित