नेपाली काँग्रेसको चौधौँ महाधिवेशन संघारमै आइपुग्दा नेता रामचन्द्र पौडेललाई उम्मेदवार छान्न सकस परिरहेको छ । तीन दिनदेखि छलफल चलिरहे पनि पौडेलले अझै सभापतिका साँझा उम्मेदवार छान्न सकिरहेका छैनन् ।
हिजो साँझ आफूनिकट शीर्ष नेता र केन्द्रीय सदस्यहरूसँग छलफल गरेर पनि पार नलागेपछि पौडेलले आज बिहान ९ बजे बत्तिसपुतलीमा बस्ने गरी फेरि बैठक राखेका छन्।
यो बैठकमा सभापतिका आकांक्षीसहित केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू र निवर्तमान जिल्ला सभापतिहरूका साथै काठमाडौंमा उपलब्ध पौडेल पक्षका महाधिवेशन प्रतिनिधिलाई पनि सहभागी गराएर सभापतिमा बलियो उम्मेदवारको खोजी गर्न लागिएको छ।
सभापतिको बलियो उम्मेदवार तय गर्न समूहमा भोटिङ गर्नेसम्मका प्रस्ताव आएको बताइएको छ तर यसो गर्दा सन्देश राम्रो नजाने भएकोले भोटिङ गर्न रोकिएको पौडेल पक्षका एक नेताले बताएका छन् ।
पौडेल पक्षलाई सभापति छान्न मात्र सकस होइन, पदाधिकारीदेखि केन्द्रीय समिति सदस्यका उम्मेदवार छान्न पनि उतिकै समस्या पर्ने देखिएको छ ।
पौडेल पक्षबाट उपसभापतिमा अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायत आकांक्षी छन्। बलबहादुरले त उपसभापतिमा आफ्नो उम्मेदवारी रहने घोषणा गरिसकेका छन्। अर्जुननरसिंह भने समूहलाई एकढिक्का राख्दै अगाडि बढ्नुपर्ने भन्दै समन्वयकारी भूमिकामा देखिएका छन्।
केन्द्रीय सदस्य महेश आचार्यले पनि उपसभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन्। उनी पनि वरिष्ठ नेता पौडेलनिकट छन्।
महामन्त्री पदमा पनि आकांक्षी धेरै छन्। केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र गगन थापा यो समूहबाट महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा छन्। थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने रिजाल सार्वजनिक रूपमा कुन पदमा उठ्ने भन्ने खुलेका छैनन्।
आठ सहमहामन्त्री पदमा पनि आकांक्षी धेरै छन्। पौडेलनिकट केन्द्रीय सदस्य बद्री पाण्डे र जीवन परियारले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्। नेताहरूले उम्मेदवार तय गर्न ढिलाइ गरेपछि आकांक्षीहरूले विभिन्न पदमा उम्मेदवारी दिने कुरा सार्वजनिक गर्न थालेका छन्।