राष्ट्रियसभा रिक्त सदस्यको निर्वाचन पुस १७ बाट,गण्डकीका यी तीन सांसदको पदावधि फागुन २० सम्म

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यमा रिक्त सदस्यको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार रिक्त १९ सदस्यको चुनाव प्रक्रिया पुस १७ बाट शुरु हुने छ ।

आयोगका अनुसार, आउँदो पुस १७ बाट निर्वाचन प्रक्रिया शुरु हुनेछ । उक्त दिन मतदाता नामावली प्रकाशन हुनेछ । पुस २० मनोनयन पत्र दर्ता हुनेछ र माघ १२ मा चुनाव हुनेछ । राष्ट्रिय सभा सदस्यका निम्ति प्रदेश सांसद, स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता रहनेछन् ।

राष्ट्रिय सभामा निर्वाचित एक तिहाई सांसदहरुको आउँदो फागुन २० मा चार वर्षे पदावधि पूरा हुँदैछ ।जसमा गण्डकीका तीन सांसदको पनि पदावधि सकिदैँछ ।

पदावधि सकिनेमा दलिततर्फका नेकपा माओवादी केन्द्रका खिम कुमार वि.क, महिला तर्फका नेकपा एमालेका नैनकला ओझा र नेकपा एकीकृत समाजवादीकी शान्ती कुमारी अधिकारी जि.सी रहेका छन् । उनीहरुको चार वर्षे कार्यकाल यही फागुन २० मा सकिदैँछ । गोला प्रथाका आधारमा दुई, चार र छ वर्षे पदावधि कायम भएको हो ।

 

  • २१ मंसिर २०७८, मंगलवार १५:२४ प्रकाशित