ओमिक्रोनको संक्रमण देखिएसँगै के अब लकडाउन होला ? यस्तो भन्छ स्वास्थ्य मन्त्रालय

केन्द्रभाग मिडिया

काठमाडौं ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वमा फैलिन थालेसँगै सर्तकता अपनाउन थालिएको छ । यसैबीच यता नेपालमा पनि आज २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएपछि लकडाउन होला कि नहोला भन्ने सर्वत्र चासो छ ।

केहीले अब लकडाउन हुन्छ भन्ने अड्कलबाजी समेत लगाउन थालिसकेका छन् । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको जनाएको छ ।

ओमिक्रोन फैलनसक्ने भन्दै सामाजिक सञ्जालमा चासो र चिन्ता बढेपछि सरकारले सचेत गराउँदै लकडाउन बारे निर्णय नगरेको जनाएको हो ।

मन्त्रालयका अनुसार तत्काललाई सरकारले लकडाउन बारे केही निर्णय गरेको छैन । मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले भने, ‘लकडाउन हुँदैन । यसबारे सरकारले केही निर्णय गरेको छैन । ’

उनका अनुसार ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी बनाइएको छ ।उनले जनस्वास्थ्यका मापदण्ड सबैले पालना गर्न र आफ्नो पालोमा खोप लिनुपर्ने बताए ।झण्डै ४० देशमा देखा परिसकेको यो भेरिएन्ट संक्रामक पनि मानिएको छ ।

  • २० मंसिर २०७८, सोमबार १६:५० प्रकाशित