काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन निर्वतमान अध्यक्ष कमल थापाको कुर्सीमा बसेनन् । आज लिङदेनले पदभार ग्रहण गर्दै आफ्नो लागि छुट्टै कुर्सी मगाएर बसेका हुन् ।
चाबहिलस्थित पार्टी कार्यालयमा पूजाआजा सहित उनले आफू महामन्त्री हुँदा बस्ने गरेको कोठामै पदभार ग्रहण गरेका हुन् ।पार्टीको अभिभावकको रुपमा रहेका थापालाई कार्यालय आउन सहज होस् भनेर उनको कोठा प्रयोग नगरेको र थापाले अध्यक्ष हुदाँ प्रयोग गर्दै आएको कुर्सी पनि प्रयोग नगरेको लिङ्देनले बताएका छन् ।
लिङदेनले भने ,‘म राष्ट्रिय प्रजातन्त्र पार्टीमा मेरा श्रद्धेय नेताहरु बसेकै कुर्सीमा बसौं र म पनि त्यहाँ बसेर इच्छा पूरा गरौं, दुनियाँलाई देखाऔं भन्ने रहरले अध्यक्ष पदको दाबी गरेर आएको मानिस होइन,’ उनले भने, ‘त्यहाँ फेरि पनि हाम्रा अध्यक्षत्रयहरु, हाम्रा नेताहरु र खासगरी जहाँ कमल थापा बस्दै हुनुहुन्थ्यो त्यहाँ फेरि पनि उहाँ आफ्नो अभिभावकको रुपमा नेताको रुपमा आउनुपर्छ, सजिलो होस् भनेर त्यो कोठालाई सुरक्षित राखेको हो ।’
राप्रपाका दुई कार्यालय छन् । तत्कालीन अध्यक्षद्वय पशुपति शम्सेर राणा र डा। प्रकाशचन्द्र लोहनीको कार्यकक्ष चाबहिलको चारुमती बिहारको कार्यालयमा थियो भने कमल थापाको कार्यकक्ष धुम्बाराहीमा थियो ।
राप्रपाको एकता महाधिवेशनमा भएको निर्वाचनमा कमल थापालाई दुई सय मतअन्तरले पछि पार्दै लिङ्देन अध्यक्ष निर्वाचित भएका हुन् ।